लायन्सको दोस्रो क्याबिनेट बैठक गैँडाकोटमा

चितवन, २५ कात्तिक । लायन्स क्लब अफ इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ वी टूको दोस्रो क्याबिनेट बैठक यही कात्तिक २९ र ३० गते गैँडाकोटमा हुने भएको छ । सोही डिष्ट्रिक्टको एरिया नं ३ को आतिथ्यतामा बैठक हुन लागेको हो । कार्यक्रम संयोजक एरिया नं ३ का चिफ एरिया कोअर्डिनेटर प्रकाशचन्द्र भट्टराईका अनुसार बैठकमा डिष्ट्रिक्टका चार सय लायन्स क्लबका दुई हजार हाराहारीको सहभागिता हुनेछ । उनीहरुका लागि आवास, खानालगायत कार्यक्रमको व्यवस्थापन विभिन्न समितिमार्फत गरिएको छ ।

डिष्ट्रिक्टका गभर्नर अनुप पहाडीका अनुसार बैठकमा लायन्स क्लबहरुले सेवाका क्षेत्रमा गरेका कामको अनुमोदन र भावी योजनाहरुका विषयमा एजेन्डागत रूपमा छलफल गरिनेछ । आगामी दिनमा गरिने ठूला परियोजना र विगतमा भएका त्यस्ता परियोजनाहरुको विशेष समीक्षा पनि बैठकमा हुनेछ । डिष्ट्रिक्टका सेकेन्ड भाइस गभर्नर रामप्रसाद भट्टले दोस्रो बैठक भ्रमण वर्षको सङ्घारमा चितवन क्षेत्रमा हुनुले यसले पर्यटन प्रवद्र्धनमा विशेष सहयोग पुग्ने बताए । लायन्सको डिष्ट्रिक्टको एक वर्षमा चारवटा यस्ता बैठक हुन्छन् । यसअघि पहिलो बैठक काठमाडौँमा भएको थियो ।

Loading...