अझै मेलम्चीको सुरुङ खन्न १६०० मिटर बाँकी

काठमाडौँ, ९ असोज । यसपालीको दसैमा मेलम्चीको पानी काठमाडौंमा पुर्याउने प्रचार व्यापक रुपमा गरिए पनि त्यो पूरा भएन । राजधानीवासीलाई मेलम्चीको खानेपानी उपलब्ध गराउने कुरा त परै छ, दसैसम्म सुरुङ खन्ने कार्य नै पूरा नहुने भएको छ । मेलम्ची खानेपानी आयोजनाका अनुसार अहिले पनि १ हजार ६ सय मिटर सुरुङ अझै खन्न बाँकी छ ।

यसैबीच खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादवले एक हजार ६ सय मिटर मात्रै सुरुङ खन्न बाँकी रहेकाले केही महिनाभित्रै मेलम्चीको पानी राजधानी आउने विश्वास दिलाएका छन् ।

राजधानीमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै मन्त्री यादवले किसुनजीले देखेको मेलम्चीको पानी राजधानी ल्याउने र काठमाडौंका सडक पखाल्ने सपना विपनाको नजिक पुगेको बताए । यसअघि सरकारले तीन पटक सार्दै आएको मितिअनुसार २०७४ सालको बडा दशैँमा पानी आउने उल्लेख थियो ।

“मेलम्चीका विषयमा विगतमा जे हल्ला र भ्रम थियो, अब त्यो हटेको छ, प्रधानमन्त्री शेरबहादुर देउवाले पनि राष्ट्रिय गौरवको मेलम्ची आयोजनाका लागि बजेट अभाव हुन दिन्नौँ भन्नुभएको छ, सुरुङ निर्माणमा तीन समूहमा काम भइरहेको छ”, मन्त्री यादवले भने ।

मुलुकमै ठूलो आयोजना भएकाले पानी आउन १५ दिन वा एक महिना ढिला भए पनि आपत्ति मान्नु नहुने उनको भनाइ थियो ।

मन्त्री यादवले असोज २ गते भएको प्रदेश नं २ को स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा पार्टीले पाएको मत सन्तोषजनक नभएको गुनासो गर्नुभयो । पार्टीभित्रको आन्तरिक कारण र व्यवस्थापकीय कमजोरीका कारण भनेजस्तो परिणाम ल्याउन नसकेको उनले सुनाए ।

Loading...