यातायात व्यवस्था कार्यालय भाडामा सञ्चालन

तुलसीपुर, २० कात्तिक । यातायात व्यवस्था कार्यालय दाङको ट्रायल सेन्टर भाडाको जग्गामा सञ्चालित छ । तुलसीपुर उपमहानगरपालिका–६ स्थित शोभा भगवतीको गुठीको जग्गा भाडामा लिएर २०७० सालदेखि ट्रायल सेन्टर सञ्चालनमा ल्याइएको हो । कार्यालयले वितरण गर्ने सवारी चालक अनुमतिपत्र लाइसेन्सका लागि दिइने ट्रायल सेन्टरलाई १० वर्षका लागि भाडामा लिइएको हो ।

करीब दुई बिघा जग्गा भाडामा लिएर ट्रायल सेन्टर सञ्चालनमा ल्याइएको कार्यालयका प्रशासन प्रमुख रेश्मीराज अधिकारीले बताए । उक्त जग्गाको वार्षिक रु ६० हजार भाडा तिर्ने गरिएको अधिकारीले बताए ।

उनका अनुसार ट्रायल सेन्टरका लागि आवश्यक जग्गा उपलब्ध गराइदिन प्रदेश सरकारलाई ‘स्टिमेट’ बनाएर पठाएको छ । सो स्टिमेट पाँच÷छ महिना अघि पठाएको भए पनि हालसम्म कुनै चासो नदेखाएको उनले गुनासो गरे । कार्यालयले करीब रु ७० लाखको स्टिमेट तयार पारेर प्रदेश सरकारलाई पठाएको अधिकारीको भनाइ छ ।

अहिले यातायात कार्यालय दाङ पनि भाडामा सञ्चालित छ । जसको भाडा मासिक रु ४५ हजार रहेको उनको भनाइ छ । २०६६ सालदेखि सो कार्यालय भाडामा बसेको हो । दुईतले रहेको उक्त भवनका १८ वटा कोठा भाडामा लिएको उनहाँको भनाइ छ । कार्यालयलाई ती कोठा साना र अपुग हुने गरेकोसमेत उनले बताए । अर्कोतर्फ कार्यालयको उचित पार्किङसमेत नुहँदा समस्या हुने गरेको छ । कार्यालयको आफ्नै भवन निर्माणका लागि जग्गादाताको खोजी कार्य भइरहेकोसमेत अधिकारीले बताए।

Loading...