अर्कामन्त्री विरुद्ध पर्यो १६ करोड ठगीको मुद्दा

काठमाडौं । निरन्तर हाइ प्रोफाइलवालाहरु विभिन्न मुद्दामा परेर पक्राउ परिरहेका बेला अर्का एक मन्त्री करोडौ ठगीमा जोडिएका छन् । १६ करोड रुपैयाँ ठगीमा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावल पनि मुछिएका हुन। राज्यमन्त्री रावल कञ्चनपुर क्षेत्र नम्बर ३ प्रदेशसभा ‘क’ बाट निर्वाचित नेकपा सांसद हुन्।

भीमदत्त नगरपालिका भाँसीस्थित जनज्योति एजुकेसन फाउन्डेसनको १५ करोड ६७ लाख ५० हजार सेयरबापतको रकम ठगी गरेको भन्दै मन्त्री रावलसहित ३६ जनाविरुद्ध जिल्ला अदालत (कञ्चनपुर)मा मुद्दा परेको हो।

उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री रावल जनज्योति बहुमुखि क्याम्पस सञ्चालक समितिका पूर्वअध्यक्ष तथा सेयर सदस्यसमेत हुन्। जनप्रतिनिधिहरूमा यसरी ठगी मुद्दा लाग्नेमा मन्त्री रावल सुदूरपश्चिम प्रदेशका ‘हाइ प्रोफाइल’ व्यक्तिमध्ये एक हुन्।

मन्त्री रावलसहित क्याम्पसका ३६ जना सेयरधनीविरुद्ध जिल्ला अदालत (कञ्चनपुर)मा सेयर ठगी तथा कागज पत्र किर्ते गरेको अभियोगमा मुद्दा दर्ता गरिएको छ। ताराप्रसाद जोशी, रुकमणि जोशीसहित १० जनाले उनीहरूविरुद्ध ठगी तथा कागज किर्तेसहित ३५÷३६ अभियोग लगाउँदै मुद्दा दायर गरेको जिल्ला अदालत (कञ्चनपुर)का शाखा अधिकृत नवराज पाण्डेयले जानकारी दिए।

‘३५÷३६ अभियोग लगाएर ३६ जनाविरुद्ध ठगी मुद्दा दर्ता भएको छ,’ उनले भने। शाखा अधिकृत पाण्डेयका अनुसार २०७५ साउन ७ गते बहालवाला राज्यमन्त्री रावलसहित ३६ सेयर सदस्यविरुद्ध मुद्दा दायर भएको हो। उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री रावलले ५ लाखमा एक सेयर देवराज पनेरुलाई बिक्री गरेका थिए।

मुद्दा दर्ता भएको तीन महिनाको अवधिमा केही अदालत हाजिर भएको र तीमध्ये अधिकतर अभियुक्त धरौटीमा रिहा भएको जिल्ला अदालत (कञ्चनपुर)ले जनाएको छ । अन्यको हकमा म्याद बाँकी रहेकाले सोही म्यादभित्र उनीहरू हाजिर हुने छन् ।

आर्थिक कारोबार गर्दा बैंक प्रणालीबाट गर्नु पर्ने सो नगरेको, मूल्यांकनै नगरी आफ्नो सेयर ५५ लाख कायम गरिएको, पुँजीगत लाभकर चुक्ता नगरेको, किर्ते कागजपत्र बनाएको, झुटो अडिट रिपोर्ट तयार पारी ठगी गरेको, नयाँ सेयर सदस्यलाई प्रमाण पत्र नदिएकोजस्ता विभिन्न अभियोग छन्।

मुद्दामा मुछिनेमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष, क्याम्पस प्रमुख तथा त्यही अध्यापन गराइरहेका शिक्षकसमेत रहेका सेयर सदस्य छन्। जनज्योति एजुकेसन फाउन्डेसनमा हाल पुरानो २९ गरी जम्मा १८८ सेयर छन्।

Loading...