सौराहामा बन्ने भयो यस्तो घण्टाघर

चितवन, १३ कात्तिक । पर्यटकीय नगरी सौराहामा भ्रमण वर्ष शुरुवातीसँगै रोटरी घण्टाघर बन्ने भएको छ । रोटरी क्लब अफ रत्ननगरले निर्माण गर्न लागेको घण्टाघरको आज शिलान्यास गरिएको हो । रोटरी डिस्ट्रिक्ट ३२९२ का गभर्नर किरणलाल श्रेष्ठले घण्टाघरको शिलान्यास गरेका हुन ।

सो अवसरमा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, रत्ननगर नगरपालिका प्रमुख नारायण वन, रत्ननगर नगरपालिका–७ का अध्यक्ष लालबहादुर भट्ट, रोटरीका पूर्वडिस्ट्रिक्ट गभर्नर रवीन्द्रकुमार पिया र सञ्जय गिरीले पर्यटकीय क्षेत्रमा बन्न लागेको घण्टाघर महत्वपूर्ण हुने बताए ।

रत्ननगर नगरपालिका–७ सिसुवार चोकमा घण्टाघर निर्माण गर्न लागिएको हो । क्लबका निवर्तमान अध्यक्ष एवं सर्भिस प्रोजेक्ट संयोजक जनक पौडेलका अनुसार ४० फिट अग्लो घण्टाघरको चारैतर्फ रोटरीको लोगो अङ्कित तीन फिट व्यासका ठूला घडी रहनेछन् । कोरिया वा भारतीय कम्पनीका घडी राख्ने तयारी गरिएको छ ।

जमीनबाट १२ फिट अग्लो भागमा मानिस हिँड्डुल गर्न सक्ने ठाउँ हुनेछ । सो ठाउँमा रेलिङ राखेर सुरक्षित बनाइने भन्दै उनले त्यसभन्दा माथि चार पाटाको टावर निर्माण गरिने बताए । पन्ध्र फिटको व्यासमा भुइँको भाग रहनेछ । तल्लो भाग मार्बल र माथि पोख्रेली ढुङ्गा लगाएर आकर्षक बनाइने छ ।”

क्लबका अध्यक्ष विपिन पोख्रेलका अनुसार घण्टाघरको आसपासका क्षेत्रमा वृक्षरोपण र आकर्षक उद्यान पनि बनाइनेछ । घण्टाघर निर्माणका लागि रु २५ लाखमा स्थानीय अधिकारी निर्माण सेवालाई जिम्मा दिइएको छ । पोख्रेलले माघ मसान्तसम्ममा काम सम्पन्न गरी संरक्षणका लागि स्थानीय वडा कार्यालय र प्याराडाइज क्लबलाई जिम्मा दिइने बताए । यससँगै भ्रमण वर्ष सन् २०२० मा यहाँ आउने पर्यटकले नयाँपन पाउने भएका छन् ।

क्लबको आफ्नै कोषबाट घण्टाघर निर्माण गर्न लागिएको हो । सो क्लबले यसअघि टिकौलीमा सार्वजनिक शौचालय, सौराहामा मुसहर बस्ती, रत्ननगर उद्योग वाणिज्य सङ्घमा पुस्तकालय, कालिका नगरपालिकाको लटौलीमा बिनाब्याज लघुवित्त कार्यक्रम, त्यहीँको विद्यालयमा दिवा खाजा कार्यक्रमजस्ता सामाजिक काम गर्दै आएको पोख्रेलले बताए ।

Loading...