एसिड पीडित ९ कक्षाकी छात्रा मुस्कानले लेखिन प्रधानमन्त्री ओलीलाई भावुक पत्र

काठमाडौं । विरगञ्जकी मुस्कान खातुन कक्षा ९ मा पढ्छिन । गत भदाै २० गते एसिड प्रहारबाट सख्त घाइते बनेकी मुस्कान अहिले कीर्तिपुर अस्पतालमा उपचाररत छिन । उनले लेखेकाे एक हस्तलिखित पत्र सबैतिर चर्चामा छ । यहाँ मुस्कान खातुनले लेखेकाे पत्र जस्ताकाे तस्तै राखेका छाै ।

माननीय प्रधानमन्त्रीज्यू

म मुस्कान खातुन अन्सारी

मेरो तर्फबाट नमस्ते । म एउटा तेजाब आक्रमणको नानी । हजुरलाई एउटा सानो चिठी । यो घटना मसँग घट्यो । यो घटनाको पीडा भनेको ठुलो पीडा हो । पहिले सीमा बस्नेत र संगीता खड्कालाई एसिड आक्रमण भएको बेला कडाभन्दा कडा कानुन भइदिएको भए आज म यो अस्पतालको बेडमा हुने थिइन होला । प्रधानमन्त्रीज्यू हजुरको दुई तिहाई सरकारको ठाउँमा म भइदिएको भए तेजाब हान्ने अपराधीलाई फाँसी दिन्थे होला ।

यस पाली एसिड आक्रमणकारीले ठुलो भन्दा ठुलो सजाए पाओस् ता कि म जस्तो एउटा बलिकामाथि या चेलीबेटी कसैमाथि तेजाव आक्रमण नहोस् । मैले जति पीडा खपेको छु, त्यो पीडा अरु कोही माथि पनि नहोस् । यो पीडा भनेको सानो पीडा होइन । एउटा देशको ठूलो पीडा हो । आमा र बुवाको पनि पीडा धेरै ठुलो पीडा हो । यो पीडा कसैको आमा र बुवाले खप्नु नपरोस् । त्यो दोषीलाई यसपालि ठूलो भन्दा ठुलो सजाय होस् । मेरो हजुरसँग बिन्ती र अपेक्षा छ । हजुरसँग मेरो एउटा अनुरोध छ कि मेरो पीडा बुझिदिनु होस्। यो घटना कसैमाथि नहोस् र कोही पनि तेजाब आक्रमण भएको चेलीबेटी अस्पताल नआओस् भन्ने अनुरोध छ ।

मिति २०७६ / ७ / ५

धन्यवाद

मुस्कान खातुनलाई विद्यालय जाने क्रममा गत भदौ २० गते बाटाेमा छेकेर एसिड प्रहार गर्ने माजिद मियाँ र सम्साद मियाँ पक्रा परेका छन् । प्रहरीले उनीहरुमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेकाे थियाे । तर, पर्सा जिल्ला अदालतले दुबैजना नाबालग भएकाे भनेपछि उनीहरुलाइ सुधारगृहमा राखिएको छ ।

मुस्कानले  त्यसप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्रीलाई यस्ताे पत्र लेखेकी हुन । उनीमाथि भएको बर्वर अाक्रमणकाे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा तीव्र आलोचना भईरहेको छ ।

 

Loading...