मेलामा युवकमाथि दिउसै खुकुरी प्रहार गर्ने ५ पक्राउ

नेपालगञ्ज, २८ असोज । बाँकेको बैजनाथ गाउँपालिकामा लागेको मेलामा युवामाथि खुकुरी प्रहार गर्ने पाँच जनालाई बाँकेको कोहलपुरस्थित इलाका प्रहरी कार्यालयले पक्राउ गरेको छ ।

उक्त गाउँपालिका–२ भौंरीकुनास्थित शिवमन्दिर परिसरमा लागेको पूर्णिमा मेलामा आइतबार राति युवती जिस्क्याएको विषयमा विवाद उत्पन्न भई खुकुरी हानाहान हुँदा सोही ठाउँका नेपाली सेनामा कार्यरत लोकेन्द्र शाही सख्त घाइते हुनुभएको थियो ।

घटनालगत्तै खटिएको प्रहरी टोलीले विभिन्न स्थानमा लुकिछिपी बसेका खुकुरी प्रहार गर्ने समूहका पाँच जनालाई पक्राउ गरेको उक्त कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिनुभयो ।

पक्राउ पर्नेहरुमा मकैबारी निवासी विष्णु रोकाय, सुरेश राना क्षेत्री, पुष्कर राना क्षेत्री, डिलबहादुर राना क्षेत्री र वीरु भन्ने यामबहादुर राना रहेको उहाँले बताउनुभयो । प्रनाउ शाहीका अनुसार घाइते शाहीको भारतको लखनऊमा उपचार भइरहेको र हाल फरार रहेका उक्त घटनामा संग्लन तेजु रोकाय, विश्व रोकाय र दुर्बु रोकायको खोजी तीव्र पारिएको छ ।

लागुऔषध र मोटरसाइकल चोर्ने तीन पनि पक्राउ

प्रहरीले लागुऔषधसहित एक जनालाई सोमबार पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–३ मा डेरा गरी बस्ने भारतको लखिमपुरका १९ वर्षीय आशिष बालमिकीलाई लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।लागुऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगर शाखा र त्रिनगर प्रहरी चौकीबाट खटिएको टोलीले बालमिकीको कोठाबाट २८ सिसी क्लोरोमाइन निलिट, २२ पत्ता स्पास्मो र १८३ ट्याब्लेट बरामद गरेको थियो ।

त्यसैगरी प्रहरीले मोटरसाइकल चोरीमा संग्लन एक जनालाई पक्राउ गरेको छ । बाजुरा बह्रमतोला गाउँपालिका–३ घर भई हाल धनगढी उपमहानगरपालिका–४ बसपार्क बस्ने २३ वर्षीय रोशन अधिकारीको से६प ५९१९ नंको यामाहा मोटरसाइकलसहित कैलारी गाउँपालिका–७ का २५ वर्षीय प्रकाश बोहरालाई पक्राउ गरिएकोे प्रनाउ बस्नेतले बताए। उनलाई कैलारी गाउँपालिकामा मोटरसाइकल चलाइरहेको अवस्थामा पक्राउ गरिएको थियो ।

त्यस्तै धनगढी–४ स्थित कैलपाल स्टोरको गोदाममा प्रहरीले सोमबार छापा मार्दा रु ३९ हजार ७२५ बराबरका विभिन्न खाद्य सामग्री बरामद गरेको छ । भन्सार छलेर भित्र्याइएका मसुरको दाल१७५ किलोग्राम, नरिवल २५ किलोग्राम, राज्मा दाल ५० किलोग्राम, चिनी २५ किलोग्राम, सुर्ती ३० पोकालगायत खाद्य सामग्री बरामद गरिएको प्रनाउ बस्नेतले जानकारी दिनुभयो ।उक्त गोदाम हेर्ने जिम्मेवारी पाएका महेश भट्टलाई प्रहरीले पक्राउ गरी अनुसन्धानका लागि कैलाली भन्सार कार्यालय पठाइएको जनाइएको थियो ।

Loading...