बुटवल नगर र सियान सिटीबीच भगिनी सम्बन्ध स्थापना

बुटवल, २७ असोज । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको अन्तिम दिन आज दुई देशबीच विभिन्न क्षेत्रमा सझौता भएका छन् । राष्ट्रपति चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष समुपस्थितिमा आज बुटवल उपमहानगरपालिका र चीनको सियान सिटीका बीचमा भगिनी सम्बन्ध स्थापित गर्ने सम्झौतापत्रमा हस्ताक्षर भई सम्झौतापत्र आदानप्रदान भएका छन् ।

सियान सिटी चिनियाँ कम्युनिष्ट पार्टीका महासचिवसमेत रहेका राष्ट्रपति सीको गृहनगर र बुटवल नगर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलको गृहनगर हो ।

चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमा आज आयोजित विशेष समारोहमा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी र सियान शहरका तर्फबाट नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीबीच भगिनी सम्बन्ध स्थापना गर्ने विषयमा सम्झौता आदानप्रदान भएको थियो ।

दुवै शहरबीच सम्झौतापत्रमा हस्ताक्षरपछि बुटवल उपमहानगरपालिकाका प्रमुख सुवेदीले यो भगिनी सम्बन्ध स्थापनापछि दुवै शहरबीच एकापसमा सहयोग आदानप्रदान र अनुभव साटासाट गर्ने वातावरण बनेको बताए । उनले यो सम्बन्धले अब लुम्बिनीमा चिनियाँ पर्यटकको आकर्षण बढ्ने र बुटवल नगरमा क्षेत्र आर्थिक विकासको संभावना बढ्ने विश्वास व्यक्त गरे ।

नगरप्रमुख सुवेदीले यो सम्बन्धले बुटवल क्षेत्रमा शिक्षा, स्वास्थ्य, पर्यटनजस्ता क्षेत्रमा चिनियाँ लगानी भित्र्याउनका साथै प्राविधिक क्षेत्रका परियोजनामा समेत सहकार्यका सम्भावना बढेको बताए ।

 

Loading...