कावासोती, २४ असोज । नवलपरासीपूर्व नवलपुरको कावासोती नगरपालिका–१० मा घरबास (होमस्टे) स्थापना गरिएको छ ।
गण्डकी प्रदेश सरकारको घरबास अनुदान सहयोग र स्थानीयको सक्रियतामा थारु समुदायको बसोबास रहेको चिलाहा रतौल क्षेत्रका १३ घरमा घरबास स्थापना गरिएको हो ।
यसका लागि गण्डकी प्रदेश सरकारले १५ लाख अनुदान सहयोग उपलब्ध गराएको कावासोती नगरपालिका वडा नं १० का वडाध्यक्ष टेकनारायण महतोले बताए । प्रदेश सरकारको लागतमा सांस्कृतिक भवन निर्माण गरिएको छ । तेह्र वटा घरमा स्थापना गरिएको घरबासमा १०४ जनासम्म एकैपटक बस्नसक्ने वडाध्यक्ष महतोले बताए ।
चिलाहा रतौल सामुदायिक ग्रामीण घरबासका रुपमा थारु समुदायले घरबास स्थापना गरेका हुन् । मध्यवर्ती क्षेत्र भएकाले यहाँ वन्यजन्तु अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । यहाँ आउने पर्यटकलाई लक्षित गरी घरबास स्थापना गरिएको उनले बताए ।
घरबासका माध्यमबाट यस क्षेत्रका समुदायको आर्थिक विकासमा सहयोग पुग्ने वडा अध्यक्ष महतोले बताए । घरबासमा मुख्य गरेर थारु परिकार, थारु नृत्यका साथै थारु संस्कृति प्रमुख आकर्षण रहने उनले बताए । घरबासमा आउने पाहुनाले जङ्गल सफारी, डुङ्गा सयरको आनन्द लिन पाउने वडाध्यक्ष महतोले बताए ।
घरबासको यही असोज ३० गते गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्ने कार्यक्रम छ । योसँगै नवलपुरमा सञ्चालित घरबासको सङ्ख्या सात पुग्ने भएको छ ।
यसअघि नवलपुरको अमलटारी, पिप्रहर, ल्हापे, पोखरी, डेढगाउँ, बघुवनमा घरबास सञ्चालन भइसकेका छन् । कावासोतीमा नै थप दुई वटा घरबास सञ्चालनको तयारी गरिएको छ । लामिचौर, अमलटारी घरबास सञ्चालनका लागि पूर्वाधार निर्माणको काम चलिरहेको छ । मध्यबिन्दुको रतनपुर, सेहरीमा समेत घरबास सञ्चालनको तयारी गरिएको छ । यहाँ रहेका घरबासमा धेरैजसो आन्तरिक पर्यटक आउने गरेका छन् ।
जिल्ला सञ्चालित घरबास विभिन्न समुदायका रहेका छन् । थारु, मगर, गुरुङ र दराई समुदायद्वारा सञ्चालित घरबासमा समुदायअनुसारका संस्कृति प्रदर्शनी, रहनसहन, सोही समुदायका खानाका परिकार पर्यटकका लागि आकर्षक हुने गर्दछन् ।