दसैमा जेठानी र देउरानीबीच छुरा हानाहान हुँदा एकको मृत्यु, एक घाइते

धनुषा, २१ असोज । दसैकै अघिल्लाे राति जेठानी र देउरानीबीच छुरा हानाहान हुँदा एक जनाकाे मृत्यु भएकाे छ । धनुषाकाे औरही नगरपालिका–१, झिटकैयामा यस्ताे घटना भएकाे हाे ।

झिटकैया निवासी अहमद राइनकी पत्नी २६ वर्षीया सुनौल र अहमदका भाइ विवरण राइनकी २२ वर्षीया पत्नी सहानी खातुनबीच विवाद भएकाे थियाे । साेही विवादका क्रममा जेठानी सुनाैलले प्रहार गरेको छुराबाट देवरानी सहानीको ज्यान गएको हाे ।

सोमबार राति दुबैबीच घरायसी विवाद भएको थियो । सोही क्रममा जेठानी सुनौलले देवरानी सहानीको शरीरमा अन्धाधुन्ध छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय, धनुषाका डीएसपी रामेश्वर कार्कीले बताए ।

उनका अनुसार सहानीमाथि छुरा प्रहार गरेर सुनौलले आफ्नो पेटमा समेत छुरा प्रहार गरेकी थिइन् । उनले आत्महत्या गर्ने प्रयास गरेको आशंका गरिएको छ । डिएसपी कार्कीका अनुसार छुरा प्रहारबाट घाइते भएकी जेठानी–देवरानीलाई उपचारका लागि जनकपुरस्थित काव्या हस्पिटलमा ल्याइएको थियो । तर, उपचारकै क्रममा सहानीको मृत्यु भयो ।

आफैंले आफ्नै शरीरमा गरेको छुरा प्रहारबाट घाइते भएकी सुनौलको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...