चितवन, १५ असोज । देवघाट क्षेत्र विकास समितिले हाल त्यहाँ सञ्चालित वृद्धाश्रमलाई विकास गरी वृद्धग्राम बनाउने तयारी गरेको छ ।असाहायलाई मात्र नभएर हुने खाने वृद्धवृद्धाको समेत बूढेसकाल सुखमय ढङ्गले जीवन बिताउनका लागि वृद्धग्राम बनाउने तयारी गरिएको हो ।समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार हाल वृद्धाश्रममा ३६ वृद्धवृद्धा रहेका छन् ।
यो सङ्ख्या ५० पु¥याइदै छ । कर्मचारी र प्रशासनिकबाहेकका अधिकांश खर्च दाताबाटै पुग्ने गरेको उनले बताए । समितिको हालैको बैठकले दातालाई उत्प्रेरित गर्न आजीवन र विशिष्ट सदस्यको प्रावधानसमेत बनाएको छ । रु १५ हजार ५०० देखि ५० हजारसम्म दान गर्नेलाई आजीवन र रु ५१ हजारदेखि एक लाखसम्म दान गर्नेलाई विशिष्ट सदस्य बनाउन लागिएको छ । हालसम्म १७ जनाले आजीवन सदस्यता लिएको पौडेलले बताए । यसरी नै दाता र राज्यका विभिन्न निकायसँग सहयोग जुटाएर सुविधा सम्पन्न वृद्धग्राम बनाउन लागिएको पौडेलको भनाइ छ ।
तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीको पालामा यो विषय उठान भएको भए पनि मूर्तरुप लिन नसकेको पौडेलको भनाइ छ । हाल यस विषयलाई गम्भीररुपमा छलफल गरी अघि बढाइएको र सकारात्मक प्रतिक्रिया आएको पौडेलले बताए । साहराविहीन मात्र नभएर वृद्धवृद्धाको सुखमय जीवन बिताएका पनि बस्ने गरी वृद्धाग्राम बनाउन लागिएको हो ।
समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले वृद्धवृद्धाका लागि आफ्नो समय बिताउने राम्रो स्थल देवघाट भएकाले सबैले वृद्धवृद्धाको सम्मानका लागि सहयोग गर्ने बताए । सबैको सहयोगले नमूना वृद्धग्राम बनाउन सकिने निष्कर्ष आफूहरुको रहेको घिमिरेको भनाइ छ । शुरुमा १०० को क्षमताको वृद्धग्राम बनाउने लक्ष्य राखिएको छ । एउटै उमेर समूहका वृद्धवृद्धालाई पूजापाठदेखि सत्संग, ध्यान, प्रवचन, ज्ञान अनुष्ठान आदिमा रमाउन देवघाट उपयुक्त हुने उनको भनाइ छ ।