दूषित पानी पिउन बाध्य छन् बागलुङ बजारवासी

गलकोट, १५ असोज । बागलुङ बजारका बासिन्दा दूषित पानी पिउन बाध्य छन् । बजारका स्थायी बासिन्दा र बाहिरबाट आएका हजारौं उपभोक्ता अहिले पानी नआउने र आए पनि धमिलो दूषित पानी हेरेर बस्नुपर्ने समस्याबाट आजित छन् ।

पानी नआउने र धमिलो पानी आउने समस्या टार्न बजारवासी आसपासका विभिन्न क्षेत्रमा पुग्ने गरेका छन् तर, खानेपानी वितरणको जिम्मेवारी पाएको बागलुङ नगर खानेपानी उपभोक्ता संस्थाले भने वर्षा पछिको बाढी र पहिरोले अवरोध पु¥याएको समयमा बाहेक अरु बेला पानीको नियमित आपूर्ति हुने गरेको दावी गर्दैआएको छ ।

बजारमा बस्ने महिलाहरु पछिल्लो केही समययता खानेपानीका लागि पाखाथर, तित्याङको फड्केडाँडा लगायतका ठाउँमा पुग्ने गरेका छन् । “नियमित रुपमा पानी नआउने समस्या बढेको छ, आइहालेमा पनि धमिलो पानी आउँछ,” बागलुङ नगरपालिका–१ रामरेखाका करुणा सुवेदीले भने – “पाँच दिन यता धाराको पानी प्रयोग गरिएको छैन । जारको पानी खरिद गरेर कति समय चल्ने हो रु” धमिलो पानीले भाडाँकुँडा धुन, सरसफाइ गर्न समेत समस्या भएको उनको गुनासो थियो ।

स्वास्थ्य कार्यालयले परीक्षण गर्दा पनि नगरको खानेपानीमा पटक पटक कोलिफर्म भेटिएको थियो । बर्खाको समयमा पहिरोका कारण खानेपानी वितरण पाइप फुट्ने भएका कारण नियमित खानेपानी आपूर्ति गर्न नसकिएको नगर खानेपानी तथा उपभोक्ता संस्थाका प्रवन्धक हिमाल शर्माले स्वीकार गरे । “हामीले रातभर काम गरेर पनि खानेपानीको सहज आपूर्ति गर्ने प्रयास गरिरहेका छौ,” प्रबन्धक शर्माले भने – “पानीको नियमित आपूर्ति नहुँदासम्म पानी प्रशोधन गृह सञ्चालन गर्न सकिँदैन ।”

आकाशे पानी परेको एक हप्तासम्म धारामा लेदो पानी आउने समस्या छ । “वर्षात्को समयमा धारामा धमिलो पानी आउनु अहिलेको समस्या नभई वर्षौदेखिको समस्या हो, हामी शुद्ध पानी पिलाउने सम्भावित विकल्पका बारेमा प्रयासरत छौं,” प्रवन्धक शर्माले थपे “एक वर्षपछि मात्र नगरवासीलाई शुद्ध पानी वितरण गर्न सकिन्छ ।” सानो प्रशोधन गृहले पानी शुद्धीकरण गर्न नसकेका कारण ठूलो प्रशोधन गृह निर्माण गरिरहेको संस्थाले जनाएको छ ।

हाल डिभिजन खानेपानी कार्यालय, बागलुङ नगरपालिका र नगर खानेपानी उपभोक्ता संस्थाको ४५ करोड रुपैयाँको सह–लगानीमा काठेखोलाको पानी लिफ्टमार्फत प्रशोधन गरी वितरण गर्ने आयोजना निर्माणको काम भइरहेको बागलुङ नगरपालिकाका प्रमुख जनकाराज पौडेलले जानकारी दिए । “बागलुङमा लामो समयदेखि पानीको चर्को समस्या भएको हामीलाई बोध छ । त्यसैले दीर्घकालीन समाधानका लागि ठूलो आयोजना निर्माण गर्न लागेका हौं,” नगर प्रमुख पौडेलले भने “खानेपानी संस्थाको व्यवस्थापकीय कमजोरी रह्यो । उपभोक्ता मारमा परेका कारण लिफ्ट योजना ल्याएका हौं ।”

पानी धमिलो भएको विषयमा बागलुङ नगर खानेपानी उपभोक्ता संस्थाका पदाधिकारीसँग धेरै पटक गुनासो गरे पनि सुनुवाइ र सम्बोधन नभएको उपभोक्ताको आरोप छ । खानेपानीलाई शुद्ध बनाई वितरण गर्न उच्च अदालत पोखरा बागलुङ इजलासले समेत नगर खानेपानी उपभोक्ता संस्थाको नाममा परमादेश जारी गरेको थियो । अदालतका न्यायाधिश शेषराज सिवाकोटी र हरिप्रसाद पौडेलको संयुक्त इजलासले २०७५ भदौ १८ गते परमादेश जारी गरेको हो । अदालतको परमादेशको समेत खानेपानी संस्थाले अवज्ञा गरेको छ ।

“खानेपानी संस्थाका नाममा उच्च अदालतले नियमित रुपमा स्वच्छ, सफा पिउन योग्य पानीको व्यवस्था गर्न र पानी नआउँदाको दिनको महशुल कटाएर तिर्ने व्यवस्था गर्न परमादेश जारी गरेको थियो,” उच्च अदालत बागलुङ बारका उपाध्यक्ष बद्रीप्रसाद शर्माले भने – “अहिले बजारमा खानेपानीको समस्या फेरि चर्किएको छ । मैले पनि फोन गरेर ध्यानाकर्षण गराएको छु । नत्र अदालतमा अवज्ञाको मानहानी मुद्वा लिएर जान्छु ।” अदालतले नगर खानेपानी संस्थासहित डिभिजन खानेपानी कार्यालय र बागलुङ नगरपालिकालाई समेत यथोचित समन्वय र भूमिकाका लागि निर्देश गरेको छ ।

पानी नआउने र धमिलो पानी आउँदा अस्पताल सञ्चालनमा समेत समस्या भइरहेको धौलागिरि अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा शैलेन्द्र बी पोखरेलले बताए । ट्याकरको पानी खरिद गरी अस्पताल चलाउनु परेको पोखरेलको भनाइ छ । पोखरेलका अनुसार फोहर पानीका कारण अस्पतालमा झाडापखाला, आउँ तथा मस्तिष्कज्वरोका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ ।

धमिलो पानी प्रयोग नगर्न, सकेसम्म उमालेर मात्र पानीको प्रयोग गर्न उनि सुझाव दिन्छन। बागलुङ सदरमुकाममा दैनिक करीब ३२ लाख लिटर खानेपानी आवश्यक पर्ने भए पनि आवश्यकताको आधा मात्र पानीको आपूर्ति हुँदै आएको छ । बागलुङ सदरमुकाम क्षेत्रमा नगर खानेपानी उपभोक्ताबाट झण्डै पाँच हजार खानेपानीका धारा वितरण गरिएको छ ।

Loading...