निजी क्षेत्रको लगानि नारायणीमा सानो पानीजहाज सञ्चालन

काठमाडौं, १४ असोज । प्रदेश ३ सरकारको प्रत्यक्ष सहयोगमा नारायणी नदीमा क्रुज पानीजहाज सञ्चालन गर्ने तयारी भइरहेका बेला निजी क्षेत्रले नारायणी नदीमै छुट्टै मिनी क्रुज सानो पानीजहाज सञ्चालन गरेको छ ।

रङ्गमहल रिभर ल्यान्ड प्रा.लि.ले मिनी क्रुज सञ्चालनमा ल्याएको हो । यसको औपचारिक सुरुआत भने दशैँको फूलपातीबाट गरिने प्रा.लि.का अध्यक्ष रमन भट्टराईले जानकारी दिए । “हामीले अहिले टेस्ट ड्राइभ सुरु गरेका हौँ । यसलाई औपचारिक रूपमा फूलपातीबाट सुरु गर्नेछौँ,” भट्टराईले भने ।

मिनी क्रुज झट्ट हेर्दा सानो पानीजहाजकै स्वरूपमा छ । यसलाई स्थानीय पानीजहाजकै नामले चिन्दछन् । मिनी क्रुज पहिलोपटक आइतबार मात्रै नारायणी नदीमा टेस्ट ड्राइभ गरिएको हो । यसको सोमबार पनि टेस्ट ड्राइभ जारी थियो । “अहिले हामी २० जना यात्रु राखेर यसलाई चलाउन सक्नेछौँ,” अध्यक्ष भट्टराईले भने ।