सहकार्य र साझेदारीमा जोड

पोखरा, १२ असोज । गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनको लक्ष्यका साथ अन्तरप्रदेश भ्रमणमा निस्किएको टोलीले आफ्नो भ्रमणका क्रममा आन्तरिक पर्यटनको प्रवद्र्धनका लागि सहकार्य र साझेदारीमा जोड दिएको छ ।

प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल नेतृत्वको टोलीले विभिन्न प्रदेशमा पुगी त्यहाँका पर्यटन सम्बद्ध सङ्घ संस्था एवं सरोेकारवाला प्रतिनिधिसँगको भेट एवं अन्तरक्रियामा पर्यटकीय विकासका लागि एकापसमा सहकार्य र साझेदारीका लागि आग्रह गरेको हो ।

प्रदेश नं ३ र ५ मा गरिएका अन्तरक्रियाका क्रममा वक्ताले देशमा आन्तरिक पर्यटन प्रर्वद्धन गर्न प्रदेश र स्थानीय निकायबीच सहकार्यको खाँचो औँल्याउँदै पर्यटन सम्बद्ध सङ्घ संस्थाको सहकार्य भएमा आन्तरिक पर्यटनमा धेरै सम्भावना रहेको बताए ।

आफ्नो स्थानमा रहेका पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्न नसकिएको बताउँदै भएका सम्पदा एवं पर्यटकीयस्थलको प्रचार मात्र गर्न सके पनि त्यसले अधिकतम पर्यटक तान्न सकिने वक्ताहरूको भनाइ थियो ।

भ्रमणका क्रममा चितवनमा आयोजित कार्यक्रममा गण्डकी प्रदेश उद्योग, पर्यटन तथा वन वातावरणमन्त्री लम्सालले सन् २०१९ लाई गण्डकी प्रदेशले आन्तरिक पर्यटन वर्षको रूपमा अघि सारेको जानकारी दिँदै त्यसका लागि चितवनका पर्यटन सम्बद्ध संस्थालाई आग्रह गरे । प्रदेशले आन्तरिक पर्यटनलाई विभिन्न सुविधा दिएको जानकारी गराउँदै उनले पर्यटन व्यवसायीले यसलाई प्याकेजको रूपमा उपयोग गर्नसक्ने धारणा राखे ।

भरतपुर महानगरपालिकाका उपमेयर पार्वती शाह ठकुरीले गण्डकी प्रदेशसँग सहकार्य गरेर दुवै प्रदेशले पर्यटनबाट लाभ लिनसक्ने बताए । पर्यटन वर्ष २०२० को लक्ष्य पूरा गर्न पोखरा र भरतपुरजस्ता शहरबीच सहकार्य र साझेदारी आवश्यक रहेको उनको भनाइ थियो ।

भ्रमण वर्ष २०१९‐२२ संयोजक जुद्ध गुरुङले पर्यटन प्रवद्र्धनका लागि सरकारबाट सरकार जिटुजि, व्यवसायीबाट व्यवसायी बिटुबि र ग्राहकबाट ग्राहक सिटुसि अवधारणाका साथ अघि बढिएको धारणा राखे ।

उद्योग वाणिज्य सङ्घ चित्तवनका अध्यक्ष सहनलाल प्रधानले गण्डकी प्रदेशले थालेको अभियानको प्रदेश नं ३ ले अनुकरण गर्नुपर्ने बताए । वार्षिक रु ६९ अर्ब नेपालीले विदेश भ्रमणका लागि खर्च गर्ने गरेको तथ्याङक दिँदै उनले यो रकमलाई नेपालमै सदुपयोग गर्ने अवसर पर्यटन क्षेत्रका लागि रहेको बताए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले पोखराका होटल, रेष्टुरेण्ट, टे«किङ एवं ट्राभल्समा १० देखि २० प्रतिशतसम्म ‘प्रिभिलेज कार्ड’ बाट सहुलियत दिइने जानकारी गराए ।

Loading...