काठमाडौँ, १२ असोज । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मुलुकभरको ट्राफिक व्यवस्थापनमा सरकार सचेत रहेको बताएका छन । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज यहाँ आयोजना गरेको ‘सडक सभ्यता हाम्रो चाहना, सुरक्षित यात्राको सबैमा शुभकामना’ कार्यक्रममा उनले मुलुकको यातायात क्षेत्रको सुधारमा सबैको समान दायित्व र जिम्मेवारी रहेको बताए ।
“वर्तमान सरकार ट्राफिक सुधारका लागि सचेत छ तर नेपाल प्रहरी एक्लैले सुधार गर्न सक्दैन, यसमा सबैको साथ र सहयोग आवश्यक छ,” उनले भने । महानिरीक्षक खनालले बिरामीका लागि चिकित्सक भगवान् भएजस्तै यात्रुका लागि चालक पनि भगवान् नै भएकाले चाडपर्वका समयमा सबैलाई सुरक्षित स्थानसम्म पु¥याउन सम्पूर्ण चालकलाई आग्रहसमेत गरे ।
ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष इन्जिनीयर दीपक कुँवरले नयाँ बसपार्कलाई अन्तर्राष्ट्रिय स्तरको बसपार्क बनाउन आफ्नो संस्था लागिपरेको बताए । “बसपार्कभित्रको ९० प्रतिशत बेथिति हटिसकेको छ, बाँकी बेथिति हटाउन सबैको सहकार्य आवश्यक छ,” उनले भने, “आगामी दिनमा अनलाइन टिकटबाट यात्रा गर्न मिल्ने प्रक्रियाको थालनी गरिने छ।”
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल, नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठनका अध्यक्ष भीमज्वाला राईले ट्राफिक व्यवस्थापनमा ट्राफिकले मात्र केही गर्न नसक्ने भन्दै सबैको सहकार्य आवश्यक रहेको उल्लेख गरे ।
यसैबीच महाशाखाले विगत दुई दशकदेखि देशका विभिन्न भागमा सुरक्षित यात्रा गराउने सात प्रदेशका सात चालकलाई नगदसहित सम्मान गरेको थियो । सोही अवसरमा नेपालका राष्ट्रिय कलाकार बद्री पङ्गेनी, राधिका हमाललगायतले सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए ।