कोलम्यानले जिते १०० मिटरको स्वर्ण पदक

दोहा, १२ असोज । कतारको दोहामा जारी विश्व एथ्लेटिक्स स्पर्धामा अमेरिकी धावक क्रिस्टियन कोलम्यानले १०० मिटर दौडको स्वर्णपदक जितेका छन् । जमैकाका विश्वप्रसिद्ध १०० मिटर धावक उसेन बोल्टलाई पछ्याउँदै कोलम्यानले उपाधि जितेका हुन् । बोल्टले यस खेलबाट सन्यास लिइसकेका छन् ।

यसै महिनाको शुरुमा डोपिङ काण्डमा मुछिएका यी २३ वर्षीय अमेरिकी धावकले १०० मिटरको दूरी ९.७६ सेकेन्डमा पूरा गरेका थिए । यो उनको अन्तर्राष्ट्रिय स्पर्धामा पहिलो प्रतिष्ठित पदक हो ।

एकसय मिटर दौडमा गत वर्षका विजेता जस्टिन ग्याटलिनले सो दौड ९.८९ सेकेन्डमा पूरा गरी दोस्रो स्थानमा चित्त बुझाए । उनी ३७ वर्षका भइसकेका छन् । क्यानडाका आन्द्रे डी ग्रेसले ९.९० सेकेन्डमा दौड पूरा गरी तेस्रो भए ।

डोपिङको शंकामा परेका कोलम्यानले शारीरिक ऊर्जा वृद्धि गर्ने औषधि वा खानेकुरा नलिएको दाबी गर्दै आएका थिए । दोहाको यस प्रतिस्पर्धापछि उनी विश्वकै सर्वाधिक तिब्र गतिमा दौडने छैटौं व्यक्ति भएका छन् ।

Loading...