सामुदायिक भवन शिलान्यास

दमक, ११ असोज । आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले झापाको गौरादह–७ स्थित ग्वालडुब्बामा निर्माण हुन लागेको दुर्गा सामुदायिक भवनको आज शिलान्यास गरेका छन् ।

विभिन्न सातजना दाताले उपलब्ध गराएको आठ कठ्ठा १० धुर जग्गामा निर्माण हुने भवनको मन्त्री कार्कीले शिलान्यास गरे । भवन शहरी विकास तथा भवन निर्माण कार्यालय इलाममार्फत प्रदेश नं १ सरकारको एक करोड १४ लाखको लागतमा भवन निर्माण हुने जनाइएको छ ।

सामुदायिक भवन निर्माणका लागि स्थानीय सूर्यप्रसाद दाहाल, जीवन कोइराला, सरोज विष्ट, कृष्ण विष्ट, नरबहादुर खड्का, विष्णु निरौला र जुनबहादुर राजवंशीले करीब रु ५० लाख मूल्य पर्ने आठ कठ्ठा १० घुर जग्गा निःशुल्क प्रदान गरेका हुन् ।

भवनसम्म पुग्ने बाटोे निर्माण गर्न गौरादह नगरपालिकाले पाँच लाख बजेट विनियोजन गरेको छ । कार्यक्रममा गौरादह नगरपालिका–प्रमुख रोहितकुमार साह, उपप्रमुख गीता भेटवाललगायत स्थानीयवासीको उपस्थिति थियो ।

आजै ग्वालडुब्बामा रहेको साना किसान सहकारी र महारानीझोडामा रहेको साना किसान सहकारी संस्थाको साधारणसभा कार्यक्रममा सहभागी हुनुहुने मन्त्री कार्कीका स्वकीय–सचिव कमल पौडेलले जानकारी दिए ।