भीमदत्तनगर, १० असोज । सन् २०२० लाई नेपाल भ्रमण वर्ष बनाउने घोषणा गरिएका बेला सुदूरपश्चिम प्रदेशकै मुख्य नाकामा रहेको कञ्चनपुरको गड्डाचौकीस्थित नेपाल पर्यटन बोर्डको कार्यालय विगत पाँच वर्षदेखि सहयोगीका भरमा सञ्चालन हुँदै आएको छ ।
शुक्रबार ४०औँ विश्व पर्यटन दिवस मनाइरहँदा गड्डाचौकीमा पनि पर्यटन बोर्ड गड्डाचौकी शाखामा कार्यरत कार्यालय सहायक थानेश्वर लेखकले पनि दिवसका अवसरमा विदेशी नागरिकलाई बाजागाजासहित भित्र्याए । गड्डाचौकी नाकामा डेढ दशकअघि स्थापना भएको पर्यटक सूचना केन्द्र पाँच वर्षदेखि कार्यालय सहायक लेखकको घरमा छ ।
पर्यटन भ्रमण वर्षको चर्चा चलिरहँदा यहाँको प्रमुख नाकाको पर्यटकलाई गन्तव्यका बारेमा सूचना दिने कार्यालयमा कर्मचारी नहुँदा निकै सास्ती खेप्नुपरेको लेखकको भनाइ छ । उनले पर्यटन बोर्डमा लामो समयदेखि कर्मचारी पठाउन माग गरे पनि सुनुवाइ नभएको बताए ।
उता गड्डाचौकीस्थित अध्यागमन कार्यालयले दिएको जानकारीअनुसार वार्षिक तीन हजारको हाराहारीमा यहाँबाट तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिन्छन् । भारतका विभिन्न क्षेत्र घुमेर यहाँबाट अमेरिका, फ्रान्स, जर्मनी, बेलायतलगायत देशका नागरिकको बढी सङ्ख्यामा आउँछन् । पर्यटन दिवसको अवसरमा आयोजित कार्यक्रममा यहाँबाट काठमाडौँ र पोखरा घुम्न आएकी इरानी नागरिक फजीलट फजेल सेफरेडलाई गड्डाचौकीमा सम्मान गरिएको हो ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका वन वातावरण तथा पर्यटन राज्यमन्त्री प्रकाश रावलले इरानी नागरिक सेफरेडलाई नेपाली ढाकाटोपी र विजयसालको भाँडा उपहार दिएर स्वागत गरे । कार्यक्रममा बोल्दै सुदूरपश्चिममा पर्यटनको भरिपूर्ण सम्भावना रहेको बताए । “प्रदेश सरकार पर्यटकीय करिडोर बनाउनमा लागिरहेको छ”, राज्यमन्त्री रावलले भने, “सबै पर्यटकीय क्षेत्रको पहिचान गरी विकास गर्ने काम गर्ने तयारी हुँदैछ ।”