यमनमा मारिएका परिवारका सदस्य शोकमा

दुबई ९ असोज । दक्षिणी यमनको क्वाताबाहमा मङ्गलबार मारिएका परिवारका सदस्यहरुले आज शोक मनाइरहेका छन् ।

उक्त क्षेत्रमा बसोबास गर्ने अल हालिमी परिवारको एकै घरका १५ जनाको ज्यान गएको थियो । तीमध्ये सात जना बालबालिका नै परेका थिए ।

साउदी अरेबियाको नेतृत्वमा रहेको सेनाले गरेको हवाई आक्रमणमा परी उनीहरुको ज्यान गएको बताइएको छ । इरानी सहयोग र समर्थनको हुथी विद्रोहीका विरुद्ध यमनमा सो सैनिक समूहले संघर्ष गरिरहेको छ ।

मारिएका १५ जनाको शव बुधबार नै अल फखिर गाउँमा गाडिएको थियो ।

हिजो उनीहरुको अन्तिम संस्कारको समयमा पनि त्यहाँ ठूलो कोलाहाल भएको थियो । आफन्तहरुको रुवाबासीले उक्त क्षेत्रमा शोक छाएको थियो ।

आज उक्त गाउँभरि नै शोक छाएको छ । शोकको यस घडीमा बिहीबार गाउँलेहरु नै जम्मा भएर शोक व्यक्त गरिरहेको जानकारी समाचारमा जनाइएको छ ।

मारिएका परिवारका एकजना सदस्य सलाम अल हालिमीले भन्नुभयो– हामी निकै ठूलो शोकमा छौँ, उनीहरुको निधनले त हामी सबै गाउँलाई नै हत्या गरिएको हो भन्ने जस्तो लागेको छ ।

उनीहरु सर्वसाधारण परिवारका सदस्य थिए । उनीहरुमाथि यसरी किन यो बज्रपात भयो भन्ने बारेमा हामीले बुझ्न सकिरहेका छैनौँ, उनीहरु यसरी मारिए होलान् भन्ने बारेमा त कसैले विश्वास गर्दैन– उनले भने ।

त्यहाँ बस्ने अबास अल हालिमीको परिवार मारिएको हो । हालिमी ३८ वर्षका मात्र थिए र उनी आफ्नी श्रीमती र बालबालिकाको साथमा त्यो गाउँमा बस्दै आएका थिए ।

उनका पाँच बालबालिका मारिएका छन् । मारिने बालबालिकामा ३ वर्षदेखि ११ वर्षसम्मका रहेका आफन्तजनहरु बताउँछन् ।

उनका भाइ र बुहारी अनि छोराछोरी पनि त्यस हमलामा परी मारिएका छन् । साउदी अरेबियाको सेनाको नेतृत्वमा यमनी सेनाको समेत सहभागितामा उक्त हलाई हमला भएको थियो ।

उक्त निधनको संयुक्त राष्ट्रसंघीय मिसनले बुधबार पुष्टि गरेको थियो । त्यस्तै स्वास्थ्यकर्मीहरुले भने उक्त घरको बाहिरपट्टी अर्का एकजना पनि मारिएको बताएका छन् ।

स्वास्थ्यकर्मीहरुका अनुसार उक्त घटनामा मारिनेको संख्या १६ पुगेको छ । तर घर बाहिर मारिएका व्यक्ति भने सो हालिमी परिवारका सदस्य नरहेको बताइएको छ ।

Loading...