विराटनगर, ८ असोज । आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले नेपालीको एकता र सद्भावलाई कसिलो बनाउन चाडपर्वले योगदान दिएको बताएका छन । प्रदेश नं १ प्रदेशसभाको आज बसेको बैठकमा मन्त्री कार्कीले यस प्रदेशमा कानून निर्माणमा उल्लेखनीय काम भएको प्रष्ट पारे ।
उनले निर्माण भएका कानूनबाट प्रदेशको विकास र समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने दाबी गर्दै प्रदेश सरकारले सहमति र सहकार्यको बाटो रोजेको बताए । मन्त्री कार्कीले विगतमा कानून, संरचना र कर्मचारीको अभावले गर्दा आशातित उपलब्धि हासिल गर्न नसकेपछि चालू आर्थिक वर्षमा सरकारले उल्लेखनीय प्रगति हासिल गर्ने उद्देश्यका साथ काम गरिरहेको धारणा राखे । ‘‘प्रदेश सरकारले संसद्को सर्वोच्चतालाई कायम गर्दै जनशक्ति र अनुभवको अभ्यासबाट प्रदेशलाई समुन्नत बनाउने सरकारको सङ्कल्प छ’’, मन्त्री कार्कीले भने ।
नेपाली काङ्ग्रेस प्रदेश संसदीय दलका नेता राजीव कोइरालाले सरकारले कानून निर्माण गरेसँगै अनुगमनको पाटोलाई विशेष ध्यान दिनुपर्ने विचार व्यक्त गरे । उनले सरकारले आफ्नो हितमा मात्र नभएर सबैको हितमा काम गर्न सुझाव दिँदै नेपालीका महान् चाड दशैँका अवसरमा सबैलाई शुभकामना दिए ।
सङ्घीय समाजवादी फोरम नेपालका जयराम यादवले बजेट वितरण गर्ने प्रणालीमा सरकारले सुधार गर्नुपर्ने सुझाव दिँदै चाडपर्वका अवसरमा विराटनगर महानगरपालिकाको अवस्था नाजुक भएकाले सरकारको ध्यान जानुपर्ने कुरामा जोड दिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका इन्दिरा राईले प्रदेश सरकारले साना दललाई पनि सम्मान दिएकाले प्रदेश सरकारलाई धन्यवाद दिँदै बडा दशैँको शुभ अवसरमा सबैको सुख शान्तिको कामना गरे । संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका तर्फबाट प्रदेशसभा सदस्य विष्णु तुम्बाहाम्फेले सरकारको नारा मीठो र रसिलो भएअनुसार काम गर्नुपर्ने तर्क गरे । यसअघि प्रदेशसभा नियमावली २०७४ बमोजिम प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिका सभापति सर्वध्वज सावाँ लिम्बूले वार्षिक प्रतिवेदन सदनमा पेश गरेका थिए ।