हाँडीखोलामा देशकै ठूलो कृषि केन्द्र बन्दै

हेटौँडा, ८ असोज । अलिपरबाट झट्ट हेर्दा कुनै तारे होटल वा रिसोर्टझँै लाग्ने आकर्षक कटेज, मनोरम पोखरी, डाले घाँसका बोट अनि उखुजस्तै देखिने नेपियर घाँसका बुट्यान, साना साना खोर अनि खोरभित्र आकर्षक स्थानीय जातका कुखुरा तथा हेर्दा स्थानीयझँै लाग्ने उन्नत जातका गिरीराज, लोहाटन, हेमसरालगायतका कुखुरा अनि ठूला दुईतले कटेजको भुइँतलामा अलग अलग गाई, भँैसी तथा पाडापाडी, माथिल्लो तलामा ब्रोइलर र लेयर्स जातका कुखुरा, पोखरीमा माछा अनि तैरिरहेका हाँस, बारीमा मौसमी तथा बेमौसमी तरकारी, कृषिप्रति रुचि राख्ने जो कोहीको मन लोभ्याउने यो दृश्य हो ।

प्रदेश नं ३ को राजधानी हेटौँडासँग सीमा जोडिएको मनहरी गाउँपालिका, हाँडीखाला, मसिनेस्थित भिजन अफ मकवानपुर एग्रिकल्चरको ।अर्काको देशमा गएर काम गर्नुभन्दा स्वदेशमा नै काम गरेर विदेशको सरह कमाइ गर्न सकिन्छ र स्वरोजगार बन्दै अरु नेपालीलाई पनि रोजगारी दिन सकिन्छ भन्दै विभिन्न जिल्लाका युवाले शुरु गरेको यस कृषि फार्मले एक वर्षभित्र नै एक हजार ५०० लाई रोजगारी दिने लक्ष्य लिएको छ ।

वैदेशिक रोजगारीमा रहेका तथा विगतमा वैदेशिक रोजगारीका सिलसिलामा विदेश गएर हाल नेपालमा फर्किएका युवा र विभिन्न कारणले पीडित बन्न पुगेका महिलासमेत गरी देशका ४० जिल्लाका १५५ लगानीकर्ताको शेयर लगानी रहेको यस फार्मले हाल १०० जतिलाई रोजगारी दिएको र एक हजार ५०० लाई रोजगारी दिनेगरी काम अगाडि बढिसकेको फार्मका अध्यक्ष प्रेम कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार फार्ममा हाल थोरै सङ्ख्यामा पाडापाडी, गाई, बाख्रा र कुखुरा भए पनि आगामी वर्षबाट नै एक हजार ५०० बाख्रा, २०० गाई, १० हजार कुखुरा, १०० पाडा, तीन/चार हजार बट्टाई, उपलब्ध भएसम्म कालिज, केही हजार टर्की आदिको व्यावसायिक पालन शुरु गरिने छ । केन्द्र सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारले समेत कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको कारण आफूहरु कृषितर्फ आकर्षित भएको उनको भनाइ छ ।

हाल फार्मको आफ्नो जग्गा ७० कट्ठा भए पनि भडामा सोही अनुपातको जग्गा रहेको कार्कीले जानकारी दिए । कार्कीका अनुसार एक गाई बराबर एक कट्ठा जग्गा आवश्यक पर्ने भएकाले २०० वटा गाई पाल्ने लक्ष्य भएको फार्मलाई आवश्यक पर्ने २०० कट्ठा जग्गा वरिपरिका किसानसँग भाडामा लिएर घाँस खेती शुरु गरिएको छ । बृहत् योजनासहित शुरु गरिएको कृषि फार्मलाई केन्द्र सरकार तथा प्रदेश सरकारले पनि सहयोग गर्ने जनाइएको छ भने स्थानीय सरकारको रूपमा रहेको मनहरी गाउँपालिकाले प्रत्यक्षरूपमा सहयोग गरिरहेको छ ।

यस क्षेत्रमा छ वटा पोखरीमा माछापालन र केही बाख्रा र बङ्गुरसमेत पालन गरिरहेको खड्का बहुउद्देश्य कृषि फार्म, सोही अनुपातमा माछा उत्पादन गरिरहेको विष्ट एण्ड सन्स कृषि फार्म, तीन बिघा क्षेत्रफलमा पोखरी बनाएर माछापालन गरिरहेको तितुङ्ग माछापालन, दुई बिघामा तरकारी उत्पादन गरिरहेको थापा कृषि केन्द्रलगायत दर्जनौँ व्यावसायिक कृषि फार्म दर्ता भई व्यावसायिक कृषि प्रणालीतर्फ लागेर मनग्य आम्दानी गर्न तथा कतिलाई रोजगारीसमेत दिन सफल भएका छन् । प्रत्येक घर परिवारको कुनै न कुनै परिमाणमा कृषि उत्पादनमा योगदान रहेको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीको भनाइ छ ।

जिल्लालाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन जिल्ला समन्वय समितिले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने गरेको छ । कृषि उत्पादन पशुपालन, माछापालन र अन्य कृषिउपजको उत्पादनमा मकवानपुरका हरेक स्थानीय तहबीच अनुभव तथा प्रविधि र सीपसमेतको आदानप्रदान गराएर कृषि उत्पादनमा मकवानपुरलाई अगाडि बढाउन आफूहरु लागेको जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले बताए ।

कृषि उत्पादनलाई नै पहिलो प्राथमिकतामा राखेको प्रदेश ३ सरकारले कृषि उत्पादन बढाउन र प्रशस्त रोजगारीसमेत सिर्जना हुने गरी शुरु गरिएको यस फार्मलाई सकेको सहयोग गर्न सरकार तत्पर रहेको मुख्यमन्त्री डोरमणि पौडेलले बताए । सरकारको प्राथमिकता एकीकृत खेती भएकाले सोहीअनुसार एकीकृत खेती प्रणालीलाई सरकारले सहयोग गर्ने तथा आधुनिक कृषिमा जोड दिने उनको धारणा छ ।

कृषि क्षेत्र विकासको मेरुदण्ड रहेको भन्दै उनले आर्थिक विकास गर्न कृषिलाई जोड दिन सबैलाई आग्रहसमेत गरे । मुख्यमन्त्री पौडेलले प्रदेश सरकारको कृषि र पशुपालन सँगसँगै लैजाने नीति रहेको बताए । कृषिलाई निर्वाहमुखीभन्दा पनि व्यावसायिक र प्रविधिमैत्री बनाउनुपर्ने उनको धारणा छ । प्रदेश सरकारले प्रदेशका ११९ वटै स्थानीय तहमा कम्तीमा एउटा कृषि केन्द्र स्थापना गर्ने बताउँदै एक गाउँ एक उत्पादन क्षेत्रको अवधारणामा अघि बढिने जानकारी दिए ।

मुख्यमन्त्री पौडेलले किसानलाई मर्का पार्ने किसान र उपभोक्ताबीचको बिचौलिया प्रथाको अन्त्य गरिने र बृहत् कृषि बजार स्थापना गरिनेसमेत बताए । हरेक कृषिउपजको बजारीकरणका लागि दिगो र भरपर्दो कृषि बजारको व्यवस्था गरिने मुख्यमन्त्री पौडेलको भनाइ छ । पौडेलले सरकारले लिएको दिगो विकासको लक्ष्यअनुरुप हुने गरी काम गरिने बताए ।

भिजन अफ मकवानपुर कृषि फार्म तथा हाँडीखोलाको अधिकांश कृषि उद्यमको अवलोकन गरेको र समस्या सुनेको बताउँदै पौडेलले मनहरी गाउँपालिकाको हाँडीखोला क्षेत्र कृषि तथा पशुपालनमा पकेट क्षेत्र भए पनि खहरे खोलाले दुःख दिएको, पानी, बत्तीलगायत समस्या रहेको गुनासो आएकाले त्यसको समाधान गरिने बताए । पौडेलले उचित र मजबुत तटबन्धको व्यवस्था गर्न, कृषिमा लागत कम गरी उत्पादन बढाउन यसै क्षेत्रमा दाना उद्योग व्यवस्था गर्न सरकार लाग्ने बताए ।

हाँडीखोला क्षेत्र तरकारी उत्पादन, बाख्रापालन, माछापालन आदिका हिसाबले निक्कै नै प्रसिद्ध रहेकाले कृषि फार्म सञ्चालनका लागि यस क्षेत्र रोजेको फार्मका सञ्चालक बताउँछन् । यो क्षेत्र जिल्लाका लागि मात्र नभएर चितवन, बारा, पर्सा, रौतहट आदि जिल्लामा स्वादिलो तरकारी र माछाका लागि प्रसिद्ध छ ।

यहाँको काउली तथा आलुको मूल्य बजारमा तराई क्षेत्रबाट आउने आलु काउलीको तुलनामा १५ देखि २० प्रतिशतसम्म महँगो पर्ने तरकारी व्यापारी बताउँछन् । यस क्षेत्रको माछा हेटौँडामा अन्य क्षेत्रको माछाको तुलनामा रु ५० प्रतिकेजी महँगोमा बिक्री गर्न सकिने माछा बजारका व्यापारी बृजेन्दर माझी बताउँछन् ।

तराईको तुलनामा केही चिसो वातावरण हुने हुँदा यहाँको हरेक उत्पादन स्वादिष्ट हुने भएकाले उपभोक्ताको पहिलो रोजाइमा हाँडीखोलाको काउली, माछा, आलु, केरा तथा गेडागुडी पर्ने उपभोक्ता मञ्च, मकवानपुरका अध्यक्ष कुमार पौडेलले बताए । स्वास्थ्यप्रति सजग उपभोक्ता ताजा र विषादीरहित उत्पादन रुचाउँछन् र अहिलेसम्म हाँडीखोलावासी किसानको इमान्दारीका कारण खानयोग्य उत्पादन आएकाले रुचाइएको उनको भनाइ छ ।