चितवन, ७ असोज । साउन महीनादेखि क्रमशः बढेको डेङ्गुको सङ्क्रमणका कारण यहाँको पर्यटकीय क्षेत्रमा समेत असर परेको छ । सङ्क्रमणका कारण भरतपुर र आसपासका पर्यटकीय होटलमा पनि पर्यटकको चहलपहल कम भएको छ । भदौ १५ गतेपछि सौराहामा पर्यटकको आगमन बढ्ने गरेकामा यस वर्ष भने न्यून सङ्ख्यामा आएका छन् ।
चितवनस्थित क्षेत्रीय होटल सङ्घका अध्यक्ष दीपक भट्टराईका अनुसार विगत वर्षहरुमा यतिबेला दैनिक एक हजार हाराहारी पर्यटक सौराहा भित्रने गर्दथे तर यस वर्ष यो सङ्ख्या २००को हाराहारी मात्र छ । यस वर्ष बसमा आउने पर्यटक दैनिक २०÷३० को हाराहारी रहेका छन् भने समूहमा आउने २०० भन्दा कम छन् ।
गत वर्षमा समूहमा आउने पर्यटक र बसमा आउने पर्यटक पाँच/पाँच सय हाराहारी हुने गरेको उहाँको भनाइ थियो । सौराहाबाट दैनिक छ वटा बस काठमाडौँ र दुई वटा बस पोखरा चल्ने गर्दछन् । ती बसमा न्यून पर्यटक मात्र आउने गरेका छन् । अहिले जिल्लाका विभिन्न स्थानबाट सर्वसाधारण चढ्ने गरेका कारण ती बसले खर्च धानेको जनाइएको छ ।
सौराहा क्षेत्रमा डेङ्गु नदेखिए पनि जिल्लाको शहरी क्षेत्रमा डेङ्गु देखिएकाले त्यसैको हल्लाका कारण पर्यटक घटेको अध्यक्ष भट्टराईले बताए । रत्ननगर नगरपालिकामा हालसम्म १३५ मा डेङ्गुको सङ्क्रमण देखिएको छ । ती सबै बजार क्षेत्रका हुन् । पछिल्लो समयमा सौराहा क्षेत्रमा डेङ्गुको सङ्क्रमण नदेखिएको जिल्ला स्वास्थ्य कार्यालयका कीट नियन्त्रक राम केसीले जानकारी दिए । जिल्लामा पनि असोज लागेसँगै यस्ता रोगीको सङ्ख्या घटेर गएको र अहिले डेङ्गु नियन्त्रणको क्रममा रहेको उनको भनाइ थियो ।
सौराहाका १२० होटलको सात हजार हाराहारी पर्यटक अटाउने क्षमता छ तर यहाँ डेङ्गुको सङ्क्रमण छैन भन्ने सन्देश समयमा नै पु¥याउन सकेमा पर्यटकको सङ्ख्यामा वृद्धि हुने व्यवसायीहरूको भनाइ छ । यति बेला यूरोपेली र चिनियाँ पर्यटक मात्र सौराहा आएका छन् । क्रमशः आन्तरिक पर्यटकको सङ्ख्या पनि बढ्दै जाने बताइएको छ ।
भरतपुर र आसपासका होटलमा पनि असर
भरतपुर र गैँडाकोट क्षेत्रमा रहेका पर्यटकीय होटलमा पनि डेङ्गुका कारण असर परेको छ । रेष्टुराँको व्यापारमा कमी आएको छ भने ठूला कार्यक्रमसमेत स्थगित भएका छन् । गैँडाकोटसिथत द नारायणी रिसोर्टका महाप्रबन्धक वसन्त पराजुलीका अनुसार चार दिनका लागि आवासीय कार्यक्रम अग्रिम तय भएकोमा डेङ्गुकै कारण स्थगित भएको छ ।
भदौ २६ देखि २९ गतेसम्मका लागि कार्यक्रम तय भएकामा डेङ्गुको त्रासका कारण कार्यक्रम स्थगित भएको उनले बताए । अन्यले पनि आफ्ना कार्यक्रम पछाडि सारेका छन् । पराजुलीका अनुसार डेङ्गुको सङ्क्रमण घट्दै गएकाले पूर्ववत् अवस्थामा व्यवसाय फर्कने अनुमान गरिएको छ ।
होटल रोयल सेञ्चुरीका ‘अप्रेसन म्यानेजर’ राजेन्द्र थापाका अनुसार रेष्टुराँको व्यापारमा ४० प्रतिशतसम्म गिरावट आएकामा केही दिनयता क्रमशः व्यापार बढ्न थालेको छ । कोठमा बस्ने र रेष्टुराँमा खान आउनेको सङ्ख्या नै घटेको थियो तर असोज लागेसँगै डेङ्गुको सङ्क्रमणमा कमी आएको छ । दशैँको समयमा डेङ्गुको सङ्क्रमण नियन्त्रणमा आउन सकेमा पूर्ववत् अवस्थामा व्यापार फर्कने व्यवसायीको अनुमान छ । स्थानीय पर्यटन विकास समितिका जिल्ला महासचिव विश्व सुवेदीले डेङ्गुका कारण यहाँ आउने धेरै पर्यटकले भ्रमण स्थगन गरेको बताए ।
एयधभचभम द्यथ इचकयल क्ष्लायतभअज