बगिरहेको खोला धितो राखी ४ करोड बढी दिने बैंकका सीइओ पक्राउ

काठमाडौ । ‘क’ श्रेणीको बैंकको मान्यता पाएको बैंक अफ काठमाडौँका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ)सहित ११ जना प्रहरीको फन्दामा परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनीहरुलाई पक्राउ गरेको छ ।

पूर्वप्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ सहित ११ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा बैंकका पूर्वकर्मचारी र केही बहालवाला कर्मचारीसमेत रहेका छन् । उनीहरु उपर बैंकिङ्ग कसुरको आरोप लागेको छ ।

उनीहरुले मिलेमतो गरी बगिरहेको खोलाको जग्गा धितो राखी ऋण दिएको विषयमा अनुसन्धान गर्न विभिन्न मितिमा पक्राउ गरिएको प्रहरीको भनाइ छ ।सुरेन्द्र श्रेष्ठलाई नक्कली कागजात मिलाएर बगिरहेको खोलाको जग्गामा ऋण दिएको विषयमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए ।

तीन वर्षअघि खोलाको जग्गा धितो राखेर ४ करोड ५० लाख ऋण दिएको खुल्न आएपछि उनीहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान भैरहेको बताइएको छ ।

Loading...