व्यक्ति र समाज रुपान्तरणको माध्यम योग

काठमाडौँ, ६ असोज । प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले व्यक्ति र समाज रुपान्तरणको महत्वपूर्ण माध्यमका रुपमा योगलाई जनस्तरसम्म विकास गर्न आवश्यक रहेको बताए। पतञ्जलि योग समिति सुन्दरीजल योग शिविरको एघारौँ वार्षिकोत्सवका अवसरमा गोकर्णेश्वर नगरपालिका–१ स्थित ओख्रेनी माविमा आज आयोजित कार्यक्रममा उनले आर्थिक समृद्धिका लागि स्थानीय उत्पादन एवं जडीबुटीको उपयोग र विकासमा स्थानीय सरकारको सहयोगमा प्रदेश सरकारले कार्यक्रम सञ्चालन गर्ने बताए ।

वडा नं २ का अध्यक्ष कृष्णबहादुर पण्डितले नगरपालिकाको नौ वटै वडामा योग र विभिन्न सामाजिक एवं आध्यात्मिक कार्य गर्न मिल्ने गरी सामुदायिक हल निर्माण गर्ने योजना रहेको जानकारी दिए । युवा पतञ्जलि योग समिति नेपालका प्रमुख ललितशङ्कर योगीले प्रत्येक व्यक्तिसम्म योग पु¥याउने समितिको अभियानमा सहयोग गर्न आग्रह गरे ।

प्रा डा ऋषिराम पोखरेलले पूर्वीय निधिका रुपमा रहेको योगको महत्वलाई पछिल्लो समय पश्चिमा मुलुकले समेत आत्मसात् गर्नु योग भूमि नेपालका लागि गर्वको विषय भएको बताए । योग समिति प्रदेश नं ३ का सल्लाहकार अच्युत अर्यालले योगको ज्ञान र अभ्यासका साथै आचरण महत्वपूर्ण रहेको उल्लेख गरे । समितिका काठमाडौंँ अध्यक्ष सुरेन्द्र रिमालले काठमाडौँमा मात्र पतञ्जलिका १६० भन्दा बढी शिविर दैनिक सञ्चालनमा रहेका बताए ।

कतिपय स्थानमा भौतिक पूर्वाधारको अभावका कारण शिविर नियमित हुन नसकेकाले पूर्वाधार निर्माणमा प्रदेश र स्थानीय सरकारले सहयोग गर्नुपर्ने उनको भनाइ थियो । त्यस अवसरमा एभोगार्ड, अमलालगायतका जडीबुटी रोपण गर्नाका साथै सुन्दरीजल शिविरका साधक शङ्करमान तामाङ, सुनमाया श्रेष्ठ, सुलोचना श्रेष्ठ, सरस्वती श्रेष्ठ र विजयालक्ष्मी श्रेष्ठ लगायतलाई सम्मानसमेत गरिएको थियो ।