पोखरा, ५ असोज । संविधान दिवसको अवसरमा गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा शनिबार पोखरा–१७ छोरेपाटनस्थित मानव सेवा आश्रममा फलफूल वितरण गरियो । आश्रममा आकाशलाई छानो बनाएर कठिन परिस्थितिमा वर्षौँदेखि सडकमा बस्दै आएका मनोरोगी र सेवकसेविका गरी कूल ९६ जनाले आश्रय लिँदै आएका छन् ।
गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले सो आश्रममा आश्रितलाई फलफूल वितरण गर्दै नेपालमा अब कोही पनि मानिस भोकै र अनाथ हुनुपर्ने अवस्था नरहने व्यवस्था संविधानमै रहेको बताए । उनले परिवारबाट अपहेलित वा पीडित भई तथा छिन्नभिन्न भएका व्यक्तिको सामाजिक उत्तरदायित्व राज्यले लिनुपर्नेमा जोड दिए ।
मानव सेवा आश्रमका अध्यक्ष होमनाथ शर्माले मुलुकको विभिन्न स्थानमा सञ्चालित आश्रमले हाल ८०० भन्दा बढी मानिसलाई सेवा प्रदान गरिरहेको जानकारी दिए। उनले सडकमा बेवारिसे अवस्थामा भेटिएका त्यस्ता किसिमका मानिसको उद्धार गरी धेरैलाई पारिवारिक पुनर्मिलनसमेत गराइएको बताउँदै यस कार्यमा तीन वटै सरकार जिम्मेवार हुनुपर्ने विचार राखे ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं १० स्थित विष्णुकुमारी गुरुङले बुबाको स्मृतिमा उक्त आश्रमलाई रु नौ हजार नगद प्रदान गरेका थिए।