सूर्योदयमा महोत्सव गरिने

इलाम, ४ असोज । मुलुककै प्रमुख पर्यटकीयस्थलमा पर्ने यहाँस्थित कन्याम, अन्तुलगायतका क्षेत्रको पर्यटकीय प्रचारका लागि आउँदो मङ्सिरमा महोत्सव लगाइने भएको छ । केही समय मात्र प्रदेश नं १ को पर्यटकीय नगरी नामकरण भएको सूर्योदय नगरपालिकाको आयोजनामा महोत्सव गरिन लागिएको हो ।

भ्रमण वर्ष–२०२० लाई लक्षित गर्दै लाग्ने महोत्सवमा स्थानीय पर्यटकीय क्षेत्रको प्रचार र प्रवद्र्धनका लागि आयोजना गर्न लागिएको हो । महोत्सव आगामी मङ्सिर १४ देखि २१ गतेसम्म लाग्ने छ । महोत्सव पर्यटन प्रवद्र्धनका लागि लाग्ने भएकाले सूर्योदय क्षेत्रका प्रमुख पर्यटकीय क्षेत्रभर लगाइने नगरपालिकाका उपप्रमुख दुर्गादेवी भट्टराईले जानकारी दिईन् । महोत्सव श्रीअन्तु, कन्याम, पशुपतिनगर, फिक्कल बजार, गोर्खे थुम्के र पञ्चकन्या तथा करफोकमा आयोजना गरिने छ ।

भट्टराईका अनुसार महोत्सवको उद्घाटन श्रीअन्तुमा हुनेछ भने फिक्कल बजारमा समापन कार्यक्रमको आयोजना गरिनेछ । महोत्सवमा स्थानीय उत्पादनको समेत प्रदर्शन गरिनेछ भने साहित्यिक कार्यक्रमसमेत सञ्चालन हुनेछ । इलाममा रहेर साहित्यिक सिर्जना गर्दै रहेका साहित्यकारसँगै जिल्ला बाहिरका साहित्यकारको समेत महोत्सवमा जमघट रहनेछ ।

महोत्सवलाई भव्य र व्यवस्थित बनाउन मुख्य कार्यक्रम हुने छ स्थानमा क्षेत्रगत उप–समितिको संयोजक तोकिएको उप–प्रमुख भट्टराईको भनाइ छ । नगरभित्र धेरै उल्लेख्य पर्यटकीय क्षेत्र र सांस्कृतिक विषयवस्तु भए पनि प्रचारप्रसार हुन नसक्दा गुमनाम बन्ने खतरा बढेको भन्दै नगरले महोत्सव आयोजना गर्न लागेको हो ।

सूर्योदयका लागि महत्वपूर्ण मानिने अन्तु, घुम्नका लागि मनोरम क्षेत्र कन्याम भएकाले पनि बर्सेनि यहाँ घुम्न आउने पर्यटकको ओइरो लाग्ने गरेको छ । नेपालमा मात्र नभई पछिल्लो समय भारतीय क्षेत्र दार्जिलिङ, सिक्किम र कालेम्पुङ क्षेत्रमा घुम्न पुग्ने पर्यटक पनि यी क्षेत्रमा आउने गरेका छन् । केही महीनाअघि मात्र प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा एक कार्यक्रमबीच यस नगरलाई ‘पर्यटकीय नगरी’ घोषणा गरिएको थियो ।

Loading...