फुटबलका किरण र व्याडमिन्टनकी नङसल वर्षका उत्कृष्ट खेलाडी

काठमाडाैं, २६ भदौ । राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरणकुमार लिम्बु वर्षको उत्कृष्ट पुरुष तथा व्याडमिन्टनकी नङसलदेवी तामाङ वर्षको उत्कृष्ट महिला खेलाडी घोषित भएका छन् ।

मलेसियामा भएको एएफसी सोलिडारिटी कपको उपाधि दिलाउन गोलरक्षक लिम्बूको भूमिका महत्वपूर्ण थियो । त्यतिबेला उनले सेमिफाइनलमा दुईवटा पेनाल्टी जोगाएका थिए भने फिलिपिन्समा भएको एएफसी एसियन कप छनोटअन्तर्गत फिलिपिन्ससँगको खेलमा उनले एक पेनाल्टी बचाएका थिए ।

उक्त अवार्डका लागि उनीसँगै ब्याडमिन्टनका रत्नजित तामाङ, क्रिकेटका शरद भेषवाकर, एथलेटिक्सका सोमबहादुर कुमाल र भलिबलका मानबहादुर श्रेष्ठ मनोनयनमा परेका थिए । गोलरक्षक लिम्बू विदेशमा रहेकाले उनकी आमाले अवार्ड ग्रहण गर्नुभएको थियो ।

त्यस्तै, वर्षका उत्कृष्ट महिला खेलाडी घोषित तामाङले पाकिस्तान इन्टरनेसनल सिरिजमा मिक्स डबल्सतर्फ च्याम्पियन बन्नुका साथै अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा नेपाललाई पहिलो स्वर्णपदक दिलाएकी थिइन् ।

अवार्डका लागि उनीसँगै एथलेटिक्सकी कान्छीमाया कोजु, आर्चरीकी ज्ञानु अवाले, फुटबलकी सावित्रा भण्डारी र एथलेटिक्सकी सरस्वती भट्टराई मनोनयनमा समेटिएका थिए ।

एथलेटिक्सकी कान्छीमाया कोजुले ‘पिपुल्स च्वाइस अवार्ड’ हात पारेकी छिन् । पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत एसएमएस भोटिङ र फेसबुक लाइकका आधारमा पिपुल्स च्वाइस अवार्डको विजेता छनोट गरिएको हो ।

मनोनयनमा परेका पाँच खेलाडीमध्ये सबैभन्दा धेरै भोट पाएकी कोजुले उक्त अवार्डले आफूलाई अगाडि बढ्न मद्वत गर्ने बताइन् । सोही विधामा फुटबलका सुजल श्रेष्ठ दोस्रो तथा क्रिकेटका दिपेन्द्र सिंह ऐरी तेस्रो स्थानमा रहे ।

जुडोकी मनिता श्रेष्ठ प्रधान वर्षको उत्कृष्ट युवा खेलाडी घोषित भइन् । उनले चार प्रतिस्पर्धीलाई पछि पार्दै उत्कृष्ट युवा खेलाडी घोषित भएकी हुन् । उक्त विधाको मनोनयनमा मनितासँगै क्रिकेटका दीपेन्द्रसिंह ऐरी, फुटबलका अनन्त तामाङ, भारोत्तोलनकी कमला श्रेष्ठ र भलिबलकी प्रतिभा माली थिइन् ।

मनिताले एघारौ एसियाली क्याडेट तथा १८ औँ एसियाली जुनियर जुडो च्याम्पियनसिपमा नेपाललाई कास्य पदक दिलाएकी थिइन् ।

यस्तै, एथलेटिक्सका पुष्पराज ओझा वर्षका उत्कृष्ट प्रशिक्षक घोषित भए । उक्त अवार्डका लागि ओझासँगै राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजी, थ्रिस्टार क्लबका मेघराज केसी, क्रिकेटका जगत टमाटा र ब्याडमिन्टनका किरण थापा मनोनयनमा परेका थिए ।

त्यसैगरी, नेपालको पहिलो प्रो गल्फर घनश्याम थापाले ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्राप्त गर्नुभयो भने पहिलो अन्तर्राष्ट्रिय पदक जितेको नेपाली राष्ट्रिय भलिबल टोलीलाई ‘टिम अफ दि इयर’को अवार्ड प्रदान गरियो ।

यसैगरी, पारा एथ्लेटतर्फको अवार्ड नेत्रहिन क्रिकेटर पदम बडेलाले प्राप्त गरे । त्यस्तै, स्पेशल अवार्डबाट बन्दी सहायता नियोग (पाम) नामक संस्थालाई सम्मान गरियो ।

वर्ष खेलाडी पुरुष, महिला, प्रशिक्षक र पिपुल्स च्वाइस अवार्ड विजेताले एक÷एक थान बजाज पल्सर बाइक प्राप्त गरे भने अन्य विजेताले जनही रु ५० हजार पाए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, मञ्चका अध्यक्ष महेश आचार्यलगायतले पुरस्कार तथा अवार्ड प्रदान गनुृभयो ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले आयोजना गरेको १४औँ संस्करणको उक्त पल्सर स्पोर्ट्स अवार्ड कार्यक्रममा विभिन्न कलाकारहरूले आ–आफनो प्रस्तुति पनि प्रस्तुत गर्नुभएको थियो ।

Loading...