आज संविधान दिवस, विविध कार्यक्रम गरेर मनाइँदै

काठमाडौं, ३ असोज । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको आज बिहिबारचार वर्ष पूरा भएको छ। नेपाली जनताले आफूले चुनेका प्रतिनिधिमार्फत संविधान प्राप्त गर्ने सात दशक लामो चाहनाले २०७२ असोज ३ गते मूर्तरुप पाएको थियो। संविधान जारी भएको अवसरमा आज विविध कार्यक्रम गरेर देशभर संविधान दिवस मनाइँदैछ।

सरकारले संविधान जारी भएको चार वर्ष पुगेको अवसरमा सोमबार बिहान सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेको छ। समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, उपप्रधानमन्त्री, मन्त्रीगण, नेपाल सरकारका उच्च अधिकारी एवम् यहाँस्थित कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि, उद्योगी, व्यवसायी, नागरिक समाजका प्रतिनिधि एवम् सञ्चारकर्मीलाई आमन्त्रण गरिएको छ।

त्यसैगरी विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासमा संविधान दिवस एवं राष्ट्रिय दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिने र असोज २, ३ र ४ गते दीपावली गर्न र घर घरमा राष्ट्रिय झण्डा राख्न सरकारले सबै नागरिकलाई आग्रह गरेको छ।

गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीता र सामाजिक न्याय नेपालको संविधानका मूलभूत विशेषता हुन्। संविधान जारी भएसगै आदिवासी जनजाति र मधेसी समुदायबाट उठाइएका समानुपातिक र समावेशीका मुद्दालाई सम्बोधन गर्ने क्रममा एकपटक संशोधन भइसकेको छ। सोही विषयलाई लिएर सरकारले पुनः अर्को संशोधनको तयारी गरेको छ। संविधानसभाबाट विश्वका अरु मुलुकमा जारी भएको संविधानको तुलनामा नेपालको संविधान धेरै विशेषताले भरिपूर्ण रहेको छ।

यद्यपि संविधानका अन्तरवस्तुका विषयमा असहमति जाहेर गरेर मधेसवादी दलहरु निरन्तर आन्दोलनमा रहेका छन्। संविधानले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राख्दै जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गरेको छ।