युवा वैज्ञानिकलाई प्रोत्साहन गर्न प्रदेश सरकार तयार

हेटौँडा, १ असोज । प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले युवा वैज्ञानिकलाई प्रोत्साहन गर्न प्रदेश सरकार तयार रहेको बताएका छन । उनले आफूसँग भएको विज्ञान प्रविधिसँग सम्बन्धित आविस्कारका योजना प्रस्ताव प्रस्तुत गरेर त्यसको आविस्कारका लागि प्रदेश सरकारमार्फत आर्थिक सहयोग लिन अनुरोध गरे ।

विज्ञान प्रविधि दिवसका अवसरमा आज सामाजिक विकास मन्त्रालयको आयोजनामा मन्त्रालयको कार्यालय हेटौँडामा आयोजित अन्तक्र्रिया कार्यक्रममा मन्त्री दुलालले विज्ञानको विकासका लागि राज्यले अनुसन्धानमा खर्च गर्नुपर्ने बताए ।

उनले प्रदेश सरकार र आफ्नो मन्त्रालय आफ्नो काम कर्तव्यबाट विमुख नहुने बताउँदै हरेक नागरिक आफ्नो काम कर्तव्यप्रति इमान्दार हुने हो भने देश आफँै बन्ने बताए । हामीले विद्यार्थी तथा बालबालिकालाई शिक्षा दिँदा राष्ट्रप्रति बफादार हुने खालको र आफ्नो दायित्व बोध गराउने खालको शिक्षा दिनुपर्ने उनको भनाइ थियो ।

“हामीले त्यही गर्नुपर्छ, जे गर्नुपर्छ जस्तो हामीलाई लाग्छ तर हामीले फलानोले गर्दा बिग्रियो वा यसले यस्तो गरेन अथवा हिजोको सरकारले यस्तो गरेन भनेर कसैको मानमर्दन वा दोषारोपण गर्नु आवश्यक छैन”, उनले भने ।

नेपालीले आफूले के गरेभन्दा पनि अरुले के गरे भनेर व्याख्याता बनेर समय खेर फालिरहेको र आफ्नो आविस्कारभन्दा पनि अर्काको आविस्कारको प्रचारक बनिरहनु नै विज्ञान र प्रविधिको विकासको बाधक रहेकाले त्यो त्याग्नुपर्ने उनको धारणा थियो । मन्त्री दुलालले हामीले आफ्ना लागि र आफ्नो परिवारका लागि जति सोच्दछौँ त्यति नै देशको लागि पनि सोच्नुपर्ने बताए ।

कार्यक्रममा मन्त्रालयका निमित्त सचिव दीपेन्द्र सुवेदीले विज्ञान र प्रविधिको विकासमा प्रदेश सरकार लागिपरेको बताए । कार्यक्रममा शिक्षा विकास निर्देशनालयका निर्देशक चन्द्रप्रसाद लुइँटेलले हामीले भोगिरहेका समस्याको समाधान खोज्दै र समाधान गर्दै जाने हो भने विज्ञानको विकास हुने धारणा राख्े।

Loading...