वाशिङटन, १ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार नयाँ राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गर्नुभएको छ ।
केहीदिन अगाडि तत्कालीन सुरक्षा सल्लाहकारलाई हटाएपछि खाली भएको ठाउँमा राष्ट्रपति ट्रम्पले रोबर्ट ओब्राएनलाई नियुक्त गर्नुभएको हो ।
“मैले रोबर्टसँग लामो समय कडा काम गरेको छु, आशा छ अहिले पनि उहाँले आफ्नो जिम्मेवारी राम्रोसँग पूरा गर्नुुहुनेछ,” रोबर्टलाई नियुक्त गरेपछि ट्रम्पले ट्वीटरमा लेख्नुभएको छ ।
गत हप्ता ट्रम्पले तत्कालीन सुरक्षा सल्लाहकार जोन बोल्टनलाई जिम्मेबारीबाट हटाउनु भएको थियो ।
राष्ट्रपति ट्रम्पले अहिलेसम्म आफूले नियुक्त गरेका दर्जनभन्दा बढी पदाधिकारीहरूलाई बर्खास्त गर्नुभएको छ भने कतिपयले उहाँसँग काम गर्न नसकेको भन्दै राजीनामा दिएका छन् ।