मोगादिसु, १ असोज । सोमालियाको सुरक्षाफौजको कारबाहीमा दक्षिणी सोमालियामा मंगलबार १३ जना अल–शबाबका लडाकू मारिएका छन् । जुब्बाल्यान्डमा तैनाथ सेनाका प्रवक्ता अब्दी नुर इब्राहिम हुस्सेनले दक्षिणी सोमालियाको जमामे नगर आसपासका क्षेत्रमा अल–शबाब विरुद्ध सुरक्षाफौजले भिषण कारबाही गरेको जानकारी दिए। उनले विद्रोहीतर्फ अरु क्षति भएको बताउँदै नगर क्षेत्रमा अखडा बनाएर बसेका उनीहरुलाई अन्यत्र धपाएको दाबी गरे ।
प्रवक्ता हुस्सेनले गाउँ र नगर क्षेत्रमा विद्रोहीले निकै प्रतिरोध गरेको भएपनि अन्ततः उनीहरु परास्त भएको बताए । यसक्रममा सेनाले विद्रोहीका सवारी साधन र हातहतियार बरामद गरेको थियो । कारबाहीका क्रममा सेनाका तीन जवान घाइते भएका थिए । सोमालियाको दक्षिणी क्षेत्रमा तीन दिनअघि गरिएको यस्तै कारबाहीका क्रममा अल–शबाबका नौ जना लडाकूको ज्यान गएको थियो । सोमालियाको दक्षिणी क्षेत्रमा सरकारी फौज र अल–शबाबबीच बारम्बार झडप हुने गरेका छन् । सन् २०११ मा राजधानी मोगादिशुबाट लखेटिएका विद्रोहीहरु दक्षिणी क्षेत्रमा सक्रिय छन् ।