काठमाडौँ, २५ भदौ । नेपाल प्रहरीले मानव सेवा आश्रमलाई रु ३० हजार सहयोग गरेको छ । नेपाल प्रहरीको प्रहरी निरीक्षक १५५ औँ समूहले प्रहरी अधिकृत सेवाको नौ वर्ष पुरा गरी १० वर्ष पूरा गरेको अवसरमा मङ्गलबार साँझ मानवसेवा आश्रम सामाखुशीलाई उक्त सहयोग गरेको हो ।
कार्यक्रममा महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले मानवसेवा आश्रम सामाखुशीका सञ्चालक सन्तोषी थापामगरलाई उक्त रकम हस्तान्तरण गरे । कार्यक्रममा वृत्त प्रमुख लम्सालले वृद्धवृद्धालाई सबैले आदर र सम्मान गर्नुपर्ने विचार व्यक्त गरे । आगामी दिनमा पनि नेपाल प्रहरीले वृद्ध, वृद्धालाई निरन्तर सहयोग गर्दै जाने उनको भनाइ थियो ।
आश्रमका सञ्चालक थापामगरले सामाजिक काममा अनवरत लाग्ने नेपाल प्रहरीले वृद्ध बा, आमालाई सहयोग गरेको भन्दै प्रशंसा गरे ।
नेपालका विभिन्न १५ जिल्लामा सञ्चालन गरिएको आश्रममा हालसम्म ८०० भन्दा बढीले आश्रय लिइसकेका छन् । विसं २०८२ सम्म खुला आकाशमुनि कोही पनि व्यक्ति बस्न नपरोस् भन्ने उद्देश्य आश्रमले लिएको उनको भनाइ थियो ।