चिनियाँ विदेशमन्त्रीसँग ९ परियोजनाहरूको कार्यादेश र कार्ययोजना तय हुने

काठमाडौं, २२ भदौ । तीनदिने औपचारिक भ्रमणका लागि चिनियाँ विदेश मन्त्री वाङ यी आइतबार काठमाडौं आइपुगेका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको औपचारिक निमन्त्रणामा उनी १९ सदस्यीय टोलीको नेतृत्व गर्दै काठमाडौं आइपुगेका हुन् ।

पाकिस्तानमा आयोजना गरिएको विदेशमन्त्री स्तरीय त्रिदेशीय बैठकमा भाग लिई काठमाडौं आइपुगेका मन्त्री वाङलाई स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले स्वागत गरेका थिए । वाङको यो भ्रमणका अवसरमा बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत नेपालले रोजेका परियोजनाहरूको कार्यदेश र कार्ययोजना तय हुने बताइएको छ । नेपालले रेल, सडक, उर्जा गरी ९ वटा परियोजना छनोट गरेको छ ।

वाङ यी को यो भ्रमणलाई चिनियाँ राष्ट्रपति सी जिनपिङको सम्भावित नेपाल भ्रमणको पूर्वतयारीका रुपमा हेरिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार वाङको मंगलबार मध्यान्हसम्मको बसाइमा दुईवटा सहयोग परियोजनामा समझदारीसमेत हुनेछ ।

विदेशमन्त्री वाङले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई शिष्टाचार भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

समकक्षी प्रदीप ज्ञवालीसँग भने चिनियाँ विदेशमन्त्री वाङको भेटवार्ता सोमबार हुनेछ । परराष्ट्रमन्त्रीस्तरीय द्विपक्षीय वार्तामा तातोपानी र केरुङ नाकाका अध्यागमनमा सहजता, रसुवाको टिमुरेमा बनाइने ड्राइपोर्टलगायतका भौतिक संरचना, चीन(काठमाडौं रेलमार्ग निर्माणलगायतका विषयमा छलफल हुने एजेण्डा परराष्ट्रले तय गरेको छ ।

वाङको भ्रमण नेकपा सरकार गठन भएपछि चीनको तर्फबाट भएको उच्चस्तरीय भ्रमण हो । चिनियाँ राष्ट्रपति सीको अघिल्लो कार्यकालमा पनि विदेशमन्त्री रहेका वाङ यसअघि सन् २०१४ मा नेपाल आएका थिए ।

Loading...