मिक्लाजुङ, २१ भदौ । पाँचथरको दक्षिणी भेग कुम्मायक गाउँपालिका–१ साबिक यासोकको विकट गाउँखाल्लेमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनमा आएपछि नागरिक हर्षित भएका छन् । सामुदायिक स्वास्थ्य एकाइको भवन निर्माण गरिएपछि हर्षित भएका हुन् ।
निर्माण गरिएको भवनको शुक्रबार उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले वडाकै दुर्गम क्षेत्रमा सामुदायिक स्वास्थ्य एकाइ भवन निर्माणपछि त्यस भेगका अढाई सय जनतालाई सेवा लिन सहज भएको बताए । वडाध्यक्ष तथा यस स्वास्थ्य एकाइ व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र लावतीले यस क्षेत्रमा स्वास्थ्य एकाइको भवन निर्माण भएपश्चात् यासोकसम्म स्वास्थ्य सेवा लिन धाउनुपर्ने बाध्यता हटेको छ भने ।
आव २०७४÷७५ र २०७५÷७६ को कूल आठ लाखको लागतमा भवन निर्माण गरिएको हो । स्वास्थ्य एकाइका प्रमुख महेन्द्रसुन्दर कार्कीका अनुसार अहिले यस कार्यालयबाट बहिरंग सेवा, आकस्मिक सेवा, गर्भवती परीक्षणलगायतका सेवाहरु प्रवाह गरिनेछ । तीन जना दरबन्दी रहेको यस स्वास्थ्य एकाइमा दुई अहेब र एक जना कार्यालय सहयोगी कार्यरत छन् ।