बौद्धबाट ८४४ जना पक्राउ

काठमाडौँ, १९ भदौ । बौद्धस्थित महानगरीय प्रहरी वृत्तले एघार महिनाको अवधिमा विभिन्न आपराधिक घटनामा संलग्न ८४४ लाई पक्राउ गरेको छ । विसं २०७५ असोजदेखि २०७६ भदौसम्म ११ महीनाको तथ्याङ्क हेर्दा बौद्ध क्षेत्रबाट मात्रै ६८८ मुद्दामा आरोपित ८४४ पक्राउ परेका थिए ।पक्राउ परेकाहरू लागुऔषध, जुवा, जबरजस्ती करणी, चोरी, बालयौन दुराचार, कर्तव्य ज्यान, बैंकिङ कसुर, मानव बेचविखनलगायत मुद्दासँग सम्बन्धित थिए ।

पक्राउ परेकाहरूमध्ये सबैभन्दा बढी जुवा खेल्ने–खेलाउनेसँग सम्बन्धित थिए । जुवासँग सम्बन्धित ३५ मुद्दामा २९१ लाई पक्रउ गरी मुद्दा चलाइएको थियो । पक्राउ परेकाहरूबाट रु ३१ लाख ४१ हजार ३७० बरामद भएको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । प्रहरीले गत फागुन २५ गते काठमाडौँ महानगरपालिका– ६ महाङ्कालबाट रु एक लाख ९६ हजार १५० बरामद गर्नाका साथै आठ जनालाई पक्राउ गरेकामा एक तेस्रो लिङ्गी, चार महिला र तीन पुरुष थिए ।

त्यस्तै चोरीेको अभियोगका ५१ मुद्दामा ९१ जनालाई पक्राउ गरिएको थियो । पक्राउ पर्नेमा सबैभन्दा बढी १८ वर्षमुनिका बालबालिका रहेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । परिवारले वास्ता नगर्ने, आर्थिक अवस्था कमजोर भएका तथा बाबुआमाको ठेगान नभएका बालबालिका नै चोरी गर्दै हिँड्ने गरेको पाइएको छ । प्रहरीले गत फागुन ११मा कपनको निलोपुलबाट २८ थान मोबाइलसहित चोरी गर्ने चार जनालाई पक्राउ गरेको थियो । पक्राउपर्नेमा काभ्रेपलाञ्चोकका १८ वर्षमुनिका दुई, सुर्खेतको एक र नवलपरासी घर भई काठमाडौँ बस्ने एक रहेको प्रहरी नायब उपरीक्षक चन्दले बताए ।

घर परिवारबाट टाढा रहेका तथा परिवारको निगरानी तथा रेखदेख नभएका युवायुवती र बालबालिका दुव्र्यसनीमा फस्दै गएको पाइएको छ । पहिल्लो ११ महीनाको तथ्याङ्कमा बौद्ध क्षेत्रबाट लागुऔषधका २९ मुद्दामा ४१ पक्राउ परेका थिए । विभिन्न समयमा विभिन्न स्थानबाट डाईजेपाम, फेनारगन र नुफिन एक हजार १३५ थान बरामद गर्नाका साथै गाँजा १६ किलो, चरेस दुई किलो, ब्राउन सुगर ७७ ग्राम र नाइट्रोभेट चक्की एक हजार ३३७ थान बरामद गरिएका थिए ।

जबरजस्ती करणी अभियोगका २६ मुद्दामा ३५ जना विरुद्ध मुद्दा चलाएको थियो । सहमतिमा ‘लिभिङ टुकेदर’ बस्ने र घरपरिवारले थाहा पाएपछि अभिभावकको दबाबमा जबरजस्ती करणी मुद्दा दर्ता गर्ने गरेको घटना पनि प्रशस्त थिए । ‘लिभिङ टुकेदर’सम्बन्धी कानून नबन्दासम्म यस्ता किसिमका समस्या बढ्दै जाने अधिवक्ता अस्मिता पोखरेलले बताए ।

त्यस्तै बैंकिङ कसुरमा ५१, सार्वजनिक कसुरमा १९१, ज्यान मार्ने उद्योगमा ३८, बहुविवाहमा २०, बालयौन दुराचारमा तीन, ठगीमा चार, विद्युतीय अपराधमा एक, कर्तव्य ज्यान मुद्दामा सात, मानव बेचविखन तथा ओसारपसारमा तीन, सवारी ज्यानमा सातजनालाई पक्राउ गरी मुद्दा चलाइएका थिए । गतसाता मात्रै बौद्धको रामहिटीबाट प्रहरीले ८३ किलो रक्तचन्दनसहित च्याङ्बा लामा र योन्देन ग्याङ्जु तामाङलाई पक्राउ गरी काठमाडौँ जिल्ला वन कार्यालय पठाए ।

त्यस्तै ११ महीनामा बौद्धका भट्टीमा छापा मार्दा मदिरा बनाउन राखेको एक लाख ५४ हजार लिटर कच्चापदार्थ नष्ट गर्नाका साथै तयारी अवस्थामा रहेको हानिकारक ४३ हजार लिटर मदिरासमेत नष्ट गरिएकोे थियो ।अपराध तथा अबैध कारोवारमा संलग्नलाई कानूनी दायरामा ल्याई तत्काल कारवाही गरिने भएकाले यस्ता आपराधिक क्रियाकलापको तत्काल जानकारी दिन पनि प्रहरी नायब उपरीक्षक चन्दले सर्वसाधारणलाई आग्रह गरे ।