अध्यक्ष तिमिल्सिना र कोरियन समकक्षीबीच भेटवार्ता

काठमाडौँ, १८ भदौ । दक्षिण कोरियाको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र कोरियाका राष्ट्रियसभा अध्यक्ष मुन हि–साङ बीच भेटवार्ता भएको छ ।

कोरियाका राष्ट्रियसभा अध्यक्षको कार्यालयमा आज भएको भेटवार्तामा अध्यक्ष तिमिल्सिनाले दुई देशको सम्बन्ध मित्रता, समझदारी र दुईपक्षीय सहयोगको आधारमा अगाडि बढिरहेको बताउनुभएको उहाँका प्रेस संयोजक अशोक पौडेलले जानकारी दिए ।

प्रेस संयोजक पौडेलका अनुसार दुई देशको सम्बन्ध सरकार र जनस्तरमा सुमधुर रहेको भन्दै उनले कोरियाले नेपाललाई गरिरहेको सहयोगको प्रशंसा गरे । भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले हजारौँ नेपाली रोजगारीको सिलसिलामा कोरियामा रहेको र उनीहरुले आम्दानीसँगै प्रविधि सिकेर नेपालमा प्रयोग गर्नेसमेत बताए ।

उनले नेपाल र कोरियाको संसद्बीचको अभ्यास र अनुभव आदनप्रदानका लागि समय समयमा संसदीय भ्रमण आवश्यक रहेको बताए । उनले कोरियाले लोकतन्त्र स्थापनाको छोटो समयमा विकास र प्रविधिमा अगाडि बढेको बताउँदै भने, “विकासप्रति प्रतिबद्ध भइयो भने अगाडि बढ्न सकिन्छ । कोरियाको प्रविधि र नेपालका मेहनत जनताबाट समृद्धि तथा प्रगति हुन सक्छ ।”

अध्यक्ष मुनले कोरियामा नेपाली कामदार धेरै भएकाले कोरिया नेपालीको दोस्रो घर भएको बताउँदै नेपाललाई सहयोग गर्न कोरिया तत्पर रहेको धारणा राखे ।

तिमिल्सिना र उपविदेशमन्त्री बीच भेट

यसैबीच आज नै अध्यक्ष तिमिल्सिना र कोरियाका उपविदेशमन्त्री हि साङ बीच भेटघाट भएको छ । भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले नेपालको आर्थिक विकासमा कोरियाको निरन्तर सहयोगका लागि आभार प्रकट गरे ।

उनले रोजगारी अनुमति प्रणालीमार्फत कोरियामा रोजगारीका लागि आएको र त्यसबाट दुई देशको अर्थव्यवस्थामा सकारात्मक भूमिका खेलेको बताए । सो क्रममा उपविदेशमन्त्री साङले कोरियाको पहिलो प्राथमिकतामा नेपाली कामदारलाई राखेको जानकारी दिँदै दुई देशको सरकारी र जनस्तरको सम्बन्ध सुमधुर रहेको धारणा राखे ।

उनले नेपालको विकासमा कोरियाको सधैँ सकारात्मक सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । “नेपालले सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरेको छ”, उनले भने, “यो अभियानमा कोरियाको सहभागिता र सकारात्मक सहयोग रहन्छ ।” उनले नेपालमा भूकम्पपछिको पुनःनिर्माणमा कोरियाको सहयोग रहेको बताउँदै बाँकी काम छिटो सक्न अध्यक्ष तिमिल्सिनामार्फत नेपाल सरकारलाई आग्रह गरे ।

Loading...