शिक्षकको ‘गोल्डेन हेण्डसेक’मा घुस लिएको आरोपमा किताबखानाका दुई कर्मचारी पक्राउ

काठमाडौं, १८ भदौ । अस्थायी शिक्षकको ’गोल्डेन हेण्डसेक’ वितरणका क्रममा घुस रकम लिएको भन्दै विद्यालय शिक्षक किताबखानाका दुई कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा शाखा अधिकृत अर्जुनप्रसाद पराजुली र नायव सुब्बा राजेन्द्र कुमार केसी रहेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुलाई अस्थायी शिक्षकहरुसँग गोल्डेन ह्याण्डसेक बुझ्ने क्रममा कागजात मिलाउने प्रयोजनका लागि घुस रकम लिएको अभियोगमा पक्राउ गरिएको जनाएको छ ।

अस्थायी शिक्षकबाट राजिनामा दिए पश्चात गोल्डेन हेण्डसेक बापतको रकम कलमको रेकर्ड मिलान गरी दिनका लागि सेवाग्राहीसँग १५ हजार घुस र रिसवत माग गरिरहेको सूचना एवं उजुरीको आधारमा टोली परिचालन गर्दा उनीहरुलाई रंगेहात पक्रेको अख्तियारले जनाएको छ ।

घुस वापतको रकम लिइसकेको अवस्थामा उक्त रकम सहित दुवै जनालाई कार्यकक्षबाटै रंगेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन् ।

लामो समयदेखि समस्याका रुपमा रहेको अस्थायी शिक्षकको विषय समाधानका लागि शिक्षा ऐनको नवौं संशोधनमा अस्थायी शिक्षकलाई गोल्डेन हेण्डसेकको व्यवस्था गरिएको थियो ।

गोल्डेन हेण्डसेक पाउने शिक्षकलाई शिक्षा मन्त्रालयले किताबखाना मार्फत् रकम भुक्तानीको व्यवस्था गरेको छ ।

किताबखानाका कर्मचारी पक्राउ गरिएको बारे अख्तियारको विज्ञप्ति

Loading...