जहाजको इन्जिन आकाशमै फेल भएपछि काठमाडौं एयरपोर्टमा आकस्मिक अवतरण, टर्यो ठूलो दुर्घटना

काठमाडौं, १८ भदौ । बुधवार बिहान सिता एयरको एक जहाज दुर्घटनाबाट धन्न जोगिएको छ । सोलुखुम्बुको लुक्लाबाट काठमाडौंका लागि उडेको सीता एयरको एक जहाजको आकाशमै इन्जिन फेल भएपछि चालकले आकस्मिक अवतरण गर्न सफल भएका छन् ।

सिता एयरको ९ एन–एजेएच जहाजको एक इन्जिन आकासमै फेल भएपछि पाइलटले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराएका थिए । बुधवार बिहान ९ बजे उक्त जहाजले आकस्मिक अवतरणका लागि काठमाडौं विमानस्थलसँग अनुमति मागेको थियो । उक्त जहाजमा यात्रु भने नरहेको सिता एयरले जनाएको छ ।

सीता एयरका वरिष्ठ महाप्रबन्धक घनश्याम आचार्यले आफ्नो ट्वीटरमा लेख्दै चालक दलका सदस्य र जहाज सुरक्षित रहेको जानकारी गराएका छन् । उनले के कारणले इन्जिन फेल भयो भन्ने अध्ययन गरिने पनि जनाएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणसँगको समन्वयमा सबै जहाजको इन्जिन परीक्षण हुने र त्यसपछि मात्र आगामी उडान निश्चित गरिने सिता एयरले जनाएको छ । सीता एयरले पहाडी र हिमाली भेगका साना विमानस्थलमा उडान गर्दै आएको छ ।

Loading...