खाना पुर्याउन आएका वेटरलाई तानेर दुई तलामाथिबाट धकेल्ने पक्राउ

काठमाडौं, १७ भदौ । कलंकीको एउटा होटेलका वेटरलाई दुई तलामाथिबाट धकेलेर फाल्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं कलंकीको नारायणी गेष्ट हाउसमा काम गर्ने विवेक सोनाम सुनारलाई दोस्रो तलामा रहेको कोठाबाट समातेर झ्यालबाट फाल्ने कार्यमा सम्लग्न भएका तीन जनालाई महानगरीय प्रहरी वृत्त, कालिमाटीको टोलीले गएराति काठमाडौंको स्युचारटारबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा गुल्मीका कोसविन अर्याल, मकवानपुरका विनय वाइबा लामा र रामेछापका निशान धमला रहेको प्रहरीले जनाएको छ । थप दुई जना फरार रहेको र उनीहरुको खोजी कार्य तीब्र पारिएको पनि प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कलंकीको नारायणी गेस्ट हाउसमा गएराति पाँच जना बसेका थिए । उनीहरुले राति कोठामै खाना मगाएका थिए । खाना पु¥याउनका लागि होटलका कर्मचारी विवेक सोनाम सुनार गएको र उनीसँग सामान्य भनाभन भएको थियो । त्यहीबेला उनीहरुले विवेकलाई समातेर दोस्रो तलाबाटै भुईमा फालेका थिए । त्यसपछि उनीहरु होटेलबाट भागेका थिए ।

होटल सञ्चालक नारायण पुडासैनीका अनुसार विवेकको अवस्था गम्भीर रहेको छ । उनको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ । होटल सञ्चालक पुडासैनीले पाँचै जनाका नाममा जाहेरी दिएका छन् ।