घरमा सुत्केरी हुनेको दर शून्य बनाइँदै

राँझा, १८ भदौ । बाँकेको डुडुवा गाउँपालिकामा घरमा बच्चा जन्माउने महिलाको दर शून्य बनाइने भएको छ । घरमै बच्चा जन्माउँदा आमा र बच्चाको जोखिम हुने भएकाले सबै महिलालाई स्वास्थ्य संस्थामा सुत्केरी हुने व्यवस्था मिलाई २०७८ सालसम्ममा घरमा बच्चा जन्माउने दर शून्यमा झार्ने लक्ष्य राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धितालले जानकारी दिए ।

उनका अनुसार, लक्ष्य प्राप्तिका लागि अहिले सचेतनामूलक अभियान तथा प्रसूति सेवालाई प्रभावकारी व्यवस्थापन गरी स्वास्थ्य संस्थामै शतप्रतिशत सुत्केरी गराउन अभियान सञ्चालन गरिएको छ । गाउँपालिकामा अहिले ९० प्रतिशत संस्थागत सुत्केरी भएको पाइएको छ भने बाँकी १० प्रतिशतलाई शून्यमा झारेर शतप्रतिशत बनाइने प्रमुख प्रशासकीय अधिकृत धितालले बताए ।

गत वर्षको समीक्षामा खोप, परिवार नियोजन र निःशुल्क प्रयोगशालामा राम्रो प्रगति भएको बताउँदै उनले चालू आर्थिक वर्षमा परिवार नियोजन, खोप, आमा सुरक्षा कार्यक्रम र औलो रोग नियन्त्रणका लागि विशेष कार्यक्रम तय गरी पहिलो प्राथमिकता दिइने जानकारी दिए ।

गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले गाउँपालिकामा रहेको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाले शुरुकै वर्षदेखि स्वास्थ्य सेवा अभियान सञ्चालन गरेपछि स्वास्थ्य क्षेत्रमा सुधार आएको दाबी गरे । उनले अहिले निःशुल्क स्वास्थ्य प्रयोगशालामा बिरामीको चाप निकै बढेको र तत्काल रोगको पहिचान भई उपचार सेवा लिन सहज भएको बताए।

Loading...