काठमाडौँ, १५ भदौ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गत गठित मेडिकल कलेजहरुको शुल्क विवादलगायत विविध विषयमा अध्ययन गर्न गठित उपसमितिले आफ्नो प्रतिवेदन तयार गरेको छ । समितिको विसं २०७५ चैत २६ गतेको बैठकद्वारा समितिका सदस्य सुरेशकुमार राईको संयोजकत्वमा गठित सो उपसमितिका सदस्यमा उमेश श्रेष्ठ, एकबाल मियाँ, खगराज अधिकारी, चित्रलेखा यादव, जीवनराम श्रेष्ठ, मनकुमारी जिसी, सन्तकुमार थारू र योगेशकुमार भट्टराई रहेका थिए ।
समितिका सभापति जयपुरी घर्तीलाई उपसमितिका संयोजक राईले आज प्रतिवेदन हस्तान्तरण गरे । विभिन्न ६ परिच्छेद रहेको सो प्रतिवेदनले सुझाव दिएको छ ।उपसमितिका संयोजक राईले प्रतिवेदन हस्तान्तरण गर्दै उपसमितिले विभिन्न २२ वटा मेडिकल कलेज, त्रिभुवन विश्वविद्यालय, काठमाडाँै विश्वविद्यालय, नेपाल मेडिकल काउन्सिल, नेपाल चिकित्सक सङ्घलगायत सम्बद्ध संस्थाका प्रमुखसित छलफल गरेको जानकारी दिए । सभापति घर्तीले मेडिकल कलेजहरुको शुल्क विवाद अन्त गर्न प्रतिवेदन महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।