काठमाडौँ, १८ भदौ । मुलुकमा हालसम्मकै ठूलो वैदेशिक लगानी भित्रने भएको छ । लगानी बोर्ड र होङ्सी शिवम् सिमेन्ट प्रालिबीच एक ठूलो सिमेन्ट कारखाना स्थापनाका लागि आज परियोजना लगानी सम्झौता भएपछि ठूलो परिमाणको लगानी भित्रने भएको हो ।
सम्झौताअनुसार रु ३६ अर्ब ७५ करोड बराबरको चिनियाँ लगानी मुलुक भित्रिएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताए ।
परियोजना लगानी सम्झौतामा बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारी र कम्पनीका तर्फबाट निर्देशक लाइ वेईपेङले हस्ताक्षर गरे । हस्ताक्षर समारोहमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेपालका लागि चिनियाँ राजदूत यू होङको उपस्थिति थियो ।
परियोजना लगानी सम्झौता नेपाल सरकार र कम्पनीबीचको करार हो । सम्झौतामा दुवै पक्षका अधिकार र दायित्वलाई स्पष्ट पारिएको जानकारी दिँदै प्रमुख कार्यकारी अधिकृत अधिकारीले लगानीको सुरक्षाको प्रत्याभूति गरिएको उल्लेख गरे । सम्झौताअनुसार कम्पनीले नवलपरासीमा कारखाना स्थापना गर्नेछ । कारखानाको लागि आवश्यक खानी पाल्पाको ज्यामिरेमा रहेको छ । आयोजनामा नेपालको शिवम् होल्डिङ समूहको लगानी रहेको छ । कम्पनीले सन् २०१८ भित्र उत्पादन सुरु गर्नेछ । शुरुमा दैनिक ६ हजार टन क्षमताको हुने सो उद्योगको उत्पादन वृद्धि गरी दैनिक १२ हजार टन पु¥याउने लक्ष्य रहेको छ ।
आयोजनाका लागि तत्काल नेपाल विद्युत् प्राधिकरणले दुई मेगावाट विद्युत् उपलब्ध गराएको छ । कारखानाका लागि करिब १२ मेगावाट विद्युत् जरुरी रहेको छ । परियोजनामा चिनियाँ कम्पनीको ७० प्रतिशत र नेपाली साझेदारको ३० प्रतिशत लगानी रहनेछ ।
नेपालमा नै गुणस्तरीय सिमेन्ट उत्पादन गर्ने र सिमेन्ट उद्योगमा पूर्णरूपमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ कारखाना स्थापना गर्न लागिएको हो ।
हस्ताक्षर कार्यक्रममा अर्थमन्त्री कार्कीले लगानी सम्झौताबाट नेपालको व्यावसायिक वातावरणबारे सकारात्मक सन्देश सम्प्रेषण भएको बताए । उनले परियोजना कार्यान्वयनका क्रममा नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग समयमै उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।
‘परियोजना कार्यान्वयनका लागि सरकारका तर्फबाट आवश्यक सहयोग र सहजीकरणको सुनिश्चितता दिलाउन चाहन्छु’ अर्थमन्त्री कार्कीले भने । उनले बजेटमा व्यक्त भएअनुसार आवश्यक पूर्वाधार तथा अन्य सुविधा सरकारले उपलब्ध गराउने उल्लेख गर्दै सम्झौतालाई अन्तिमरूप दिने क्रममा बोर्ड कार्यालय र सम्वद्ध मन्त्रालय तथा सरकारी निकायका तर्फबाट भएका प्रयासको प्रसंशासमेत गरे ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीले यस सम्झौताले विदेशी लगानीकर्तालाई नेपाल वास्तवमै आकर्षक गन्तव्य बन्दै गइरहेको भन्ने प्रमाणित भएको बताए ।
सम्झौतासँगै नेपालमा विश्वस्त भएर लगानी गर्ने र नेपालको आर्थिक समृद्धिको यात्रामा साझेदार बन्न विदेशी कम्पनीका लागि नेपालमा लगानीको अनन्त अवसर सिर्जना भएको उनको कथन थियो ।
परियोजनाको कार्यान्वयन सहजीकरण गर्न बोर्डले आवश्यक समन्वय गर्ने विश्वास दिलाए ।
होङसी शिवम् प्रालिका निर्देशक लाइ वेईपेङले परियोजनालाई हालको अवस्थामा ल्याउनका लागि बोर्डले खेलेको भूमिकाका लागि प्रशंसासहित धन्यवाद दिए ।
यो सम्झौता साकार पार्न बोर्डको भूमिका निकै महत्वपूर्ण रह्यो, नेपालमा लगानीको वातावरणसम्बन्धी हाम्रै अनुभवले पनि विदेशी लगानी भित्र्याउन लगानीकर्तामा सकारात्मक सन्देश प्रवाह गर्न सहयोग पुग्ने उनको कथन थियो ।
निजी क्षेत्रमा नै पहिलो पटक भएको यस खालको सम्झौताले अन्य साझेदारी लगानीको समेत अभिवृद्धि गर्ने सो अवसरमा जानकारी दिइयो । हङकङको रेड लायन शिवम् सिमेन्टसँग मिलेर होङसी शिवम् सिमेन्ट प्रालि स्थापना गरेको हो । लगानी बोर्डले अगाडि बढाएका केही ठूला परियोजनामध्ये जलविद्युत् आयोजनापछि यो नै ठूलो र महत्वपूर्ण हो ।