आचारसंहिता उल्लंघन गर्ने नेतालाई जेल हाल्ने आयोगका आयुक्तको चेतावनी

कलैया, १९ भदौ । निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौडेलले निर्वाचन क्षेत्र नं २ मा आचारसंहिता उल्लंघन गर्नेलाई जेल हाल्नेसम्मको तयारी आयोगले गरेको खुलासा गरेका छन् ।

बाराको कलैयामा राजनीतिक दलसम्बद्ध प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै आयुक्त पौडेलले दलहरूले व्यापकरूपमा आचारसंहीताको उल्लंघन गरिरहेको बताउँदै अरू दललाई निषेध गर्ने काम कसैवाट हुन नहुने तर्क गरे । संविधान कार्यान्वयन गर्ने पाटोको रूपमा स्थानीय निर्वाचन भइरहेको बताउँदै पौडेलले योग्य, तथा कुशल उम्मेदवार छान्न जनतालाई आग्रह गरे ।

सामाजिक सद्भावमा खलल पुग्ने काम कोही कसैबाट भएमा त्यसको परिणाम गलत हुने तर्क गर्दै आयुक्त पौडेलले आपसी सद्भाव कायम गर्न सबै राजनीतिक दल तथा जनताले कार्य गर्नुपर्नेमा जोड दिए । प्रदेश नं २ मा निर्वाचन सामग्री पठाइदिएको बताउँदै मत हाल्नलाई कुनै कठिनाई नहुने बताए । सो अवसरमा दलहरूले आचारसंहिता पालना गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

त्यसैगरी, पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै आयुक्त पौडेलले आयोगले प्रदेश नं २ को चुनावलाई सम्वेदनशीलरूपमा लिएको बताए । नेपाल–भारतबीचको खुला सिमाना, सशस्त्र तथा भुमिगत समुहहरू भएको हुँदा संवेदनशील भएपनि दरिलो सुरक्षा प्रबन्ध गरी निर्वाचन गराउनमा कुनै कसर वाँकी नराख्ने गरी आयोगले प्रक्रिया अगाडि बढाएको जानकारी दिए ।

स्थानीय तहको अन्तिम चुनाव भएको हुँदा कतिपय दलहरूले चुनाव जित्न प्रतिष्ठासँग जोड्न थालेको हुँदा यस्तो अवस्थामा आयोग निकै संवेदनशील भएर अगाडि बढिरहेको पौडेलले भने । कसैलाई काखा कसैलाई पाखा हिसाबले समाचार प्रशारण प्रकाशन नगर्न पनि उनले पत्रकारहरूलाई आग्रह गरे ।

पार्टीमुखी पत्रकारिताभन्दा माथि उठेर कलम चलाउन उहाँले आग्रह गर्नुभयो । सरकार र आयोगवीच आचारसंहिता लगाएको विषयमा केही मतमतान्तर भइरहेको छ नि भन्ने प्रश्नको जवाफमा आयुक्त पौडेलले निर्वाचनको एकसय २० दिन अगाडि आचारसंहिता लगाउनुपर्ने बाध्यता भएको हुँदा आचारसंहिता लगाउनु परेको बताउँदै सरकारलाई केही अप्ठयारो परेको अवस्था छ भने निर्वाचन आयोगसँग बसेर गाँठो फुकाउन आयोग तयार रहेको जानकारी दिँदै आचारसंहिताको पालन गर्न सबैलाई आग्रह गरे ।

राजपाको सहभागिताले टेवा ः प्रचण्ड
यसैबीच, पूर्वप्रधानमन्त्री तथा नेकपा (माआवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ढिलै भएपनि राजपा स्थानीय निर्वाचन लगायतका अन्य निर्वाचनमा सहभागिता जनाउनुले संविधान कार्यन्वयनमा ठूलो टेवा पुग्ने बताए ।

जितपुर सिमरा वार्ड नं १६, टाँगिया बस्तीमा आज आयोजित एक कार्यक्रममा उहाँले संविधान संशोधन गरी तराई मधेसका जनताको पीडा सम्बोधन गर्न सत्ता साझेदार दलहरूको सहयोगमा सदनमा संविधान संशोधन प्रस्ताव पेश गरेपनि नेकपा (एमाले) का कारण असफल भएको र मधेस विरोधी पार्टी कुन हो भन्ने कुरा तराई मधेसका जनतालाई राम्ररी थाहा भइसकेको बताउँदै मतदानको माध्यमवाट त्यस्ता दललाई पाठ सिकाउनु पर्ने उनले बताए ।

तराई मधेशका जनतामा नेकपा (माओवादी केन्द्र) मा पार्टी प्रवेश गर्ने लहर नै चलेको हुँदा २ नं प्रदेशमा पार्टी पहिलो हुने दावी समेत गरे । तराई मधेसका यावत समस्याका लागि माओवादी केन्द्र सम्वेदनशील रहेको भन्दै पूर्वप्रधानमन्त्री दाहालले मधेशको मुद्दा सम्बोधन गरेरै छाड्ने प्रतिबद्धता ब्यक्त गरे ।

टाँगिया बस्तीका १६ सय जनतालाई भौतिक सुविधासहित अर्को स्थानमा स्थानान्तर गर्ने बताउँदै उनले चिन्ता नमान्न स्थानीय बासिन्दालाई आग्रह गरे ।

जितपुर सिमरा नपाको टाँगिया बस्तीको माओवादी केन्द्रका एकाई कमिटी अध्यक्ष सुमन ठोकरको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेताहरू रामबहादुर थापा, गोपाल ठाकुर, जयराम दाहाल, अनिल श्रेष्ठ, राजन पौडेललगायतले सम्बोधन गरेका थिए ।

Loading...