पोखरा, १४ भदौ । सूचनाको हक वा सुशासनका क्षेत्रमा कलम चलाउने एक जना पत्रकारलाई प्रदान गर्ने सिआइएस पत्रकारिता पुरस्कार– २०७६ बाट पत्रकार उमा आलेमगरलाई सम्मान गरिएको छ ।
सामुदायिक सूचना समाज पोखराद्वारा माछापुच्छ«े गाउँपालिकामा आज आयोजित कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटा र माछापुच्छ«े गाउँपालिकाका उपप्रमुख कृष्णकुमारी पौडेल दवाडीले संयुक्त रुपमा उक्त पुरस्कारबाट उनलाई सम्मान गरेकी हुन् । पुरस्कारको राशी ११ हजार १११, दोसल्ला र सम्मानपत्र रहेको छ ।
सो अवसरमा आयुक्त बाँस्कोटाले सूचना पाउने सबैको अधिकार भएको भन्दै सूचना लुकाउन हँुदैन, यदि लुकाउने प्रयास भए कारवाही हुने बताउनुभयो । सूचनाको हक संविधानमै उल्लेख गरिएकाले सूचना उपलब्ध बाध्यात्मक भएको बताउँदै उहाँले जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारी, स्थानीय सरकार सबैले सूचनाको हकबारे सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराका सूचना अधिकारी मेघनाथ रिजालले समाजमा सुशासन कायम गर्न सामुदायिक सूचना समाजसँग सहकार्य गरेर अगाडि बढ्ने बताए ।
कार्यक्रममा सम्मानित व्यक्तित्व उमा आलेमगर, पुरस्कार छनोट समितिका संयोजक माधव पनेरु, सूचना समाज पोखराका अध्यक्ष दीपक आचार्य, पत्रकार यदुनाथ बञ्जरा, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीलगायतले पत्रकारिता पुरस्कार र सूचनाको हकको महत्वमाथि प्रकाश पारेका थिए ।