सहकारी ‘मर्ज’ गर्नुको विकल्प छैन ः मन्त्री अर्याल

स्याङ्जा, १४ भदौ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सहकारीलाई एक आपसमा गाभ्ने अभियानमा मन्त्रालय रहेको बताएकी छिन् ।

अब सहकारीका माध्यमबाटै रोजगारी र विकासको गतिलाई अगाडि बढाउने योजनामा सरकार रहेकाले पनि सहकारी एक आपसमा ‘मर्ज’ हुनुको विकल्प नरहेको मन्त्री अर्यालको भनाइ थियो ।

स्याङ्जाको वालिङ– ९ मा रहेको कानुङ आँधिखोला बचत तथा ऋण सहकारी संस्थाको आज उद्घाटन गर्दै मन्त्री अर्यालले सहकारीको आफ्नै विकासको लागि पनि एक आपसमा मर्ज भएर सशक्त हुन जरुरी छ भनिन् ।
विसं २०७५ फागुन ३ गतेबाट सञ्चालनमा आएको सहकारी संस्थामा २६९ जना शेयर सदस्य रहेको कानुङ सहकारीका अध्यक्ष उमेश दर्लामीले जानकारी दिइन् । एक करोड ८२ लाख ८४ हजार शेयर पूँजी रहेको सो सहकारीको तीन करोड ३८ लाख ३६ हजार ५१७ कारोवार रहेको उनले बताइन् ।