काठमाडाैं, १८ । सुचना तथा सञ्चार मन्त्री माेहन बस्नेतले सबै सञ्चार माध्यममा सरकारले अनुगमन थालिसकेकाे बताएका छन् । नेपाल पत्रकार महासंघसँग सहयाेग लिएर सरकारी तथा निजी सञ्चार माध्यममा कडा अनुगमन थालिसकिएकाे मन्त्रीले जानकारी दिए । “;न्युनतम पारिश्रमिक, नियुक्ति पत्र, पेशागत र भाैतिक सुरक्षाबारे अनुगमन गरि समस्याकाे निराकरणका लागि सरकार लागिपर्नेछ,”मन्त्रीकाे कथन थियाे । लाेकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजद्वारा अाइतवार अायाेजित पत्रकार महासंघका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना कार्यक्रममा मन्त्रीले राज्यलाई छल्ने, ढाँट्ने जाेसुकैलाई कारवाही गर्ने चेतावनी समेत दिए । कार्यक्रममा अध्यक्ष गाेविन्द अाचार्यसहित नवनिर्मित पदाधिकारीलाई सम्मान गर्दै मन्त्रीले महासंघ श्रमजीवीका पक्षमा निर्धक्क भएर लाग्न अाग्रह पनि गरे । कार्यक्रममा वरिष्ठ पत्रकार हरिहर विरही, कुलचन्द्र वाग्ले, कविर राणा, प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, उपाध्यक्ष बाला अधिकारी, प्रेस सेन्टरका उपाध्यक्ष अाेम शर्मा, प्रेस चाैतारीका शान्ताराम बिडारी, क्रान्तिकारी पत्रकार संगठनका उपत्यका संयाेजक जन्मदेव जैसीलगायतकाे उपस्थिति थियाे । महासंघकाे केन्द्रीय सदस्यमा सबैभन्दा बढि मत ल्याएर बिजय भएका जैसीलाई पनि मन्त्रीले सम्मान गरेका थिए ।