अमेरिकाले प्यालेस्टाइनको नाम हटायो

रमल्लाह, ९ भदौ । संयुक्तराज्य अमेरिकाले विश्वका देश र राज्यहरुको नामावली समेटिएको सूचीबाट पहिलोपटक प्यालेस्टाइनलाई हटाएको छ । अमेरिकी उक्त कदमको प्यालेस्टाइन सरकारले विरोध जनाएको छ ।प्यालेस्टिनी राष्ट्रपति कार्यालयका प्रवक्ता नाबिल अबु रुदैनाहले एक वक्तव्य प्रकाशन गरी अमेरिकाको पछिल्लो कदमले अमेरिकाको निरन्तर खस्कदो विदेश नीतिलाई नै प्रतिबिम्बित गरिरहेको बताए ।

रुदैनाहले अमेरिकी कदमको भत्र्सना गर्दै भने – अमेरिकाको यो कदमले इजरायलको आक्रमणकारी रबैयालाई समर्थन मात्र गरेको छैन, यसले चरमपन्थी एवं घोर दक्षिणपन्थी इजरायली योजनालाई नै पूर्ण रुपमा समर्थन गरेको छ ।

इजरायली रेडियोले अमेरिकी विदेश मन्त्रालयको भनाई उद्धृत गर्दै प्यालेस्टाइनलाई दिँइदै आएको राज्यस्तरको मान्यता खारेज गरेको समाचार प्रसारण गरेको थियो । अमेरिकी विदेश मन्त्रालयले प्यालेस्टाइनको नाम समेत आफ्नो आधिकारिक वेबसाइटबाट हटाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिसेम्बर २०१७ मा इजरायलको राजधानीका रुपमा जेरुसेलमलाई मान्यता प्रदान गरेको घोषणा गरेसँगै अमेरिकाले प्यालेस्टिनी सरकारसँगको राजनीतिक सम्बन्ध तोडेको थियो ।सन् २०१८ को मे महिनामा इजरायलस्थित अमेरिकी राजदूतावासलाई अमेरिकाले जेरुसेलम स्थानान्तरण गरेको थियो ।

प्यालेस्टिनी विदेश मन्त्रालयले पनि आइतबार नै अमेरिकी पछिल्लो कदमको भत्र्सना गरेको थियो । “अमेरिकी सरकारको पछिल्लो निर्णयले इजरायल–प्यालेस्टाइनको वर्षौं पुरानो विवाद सुल्झाउने दुई–राज्य मोडेललाई जसरी पनि ध्वस्त पार्न चाहेको पछिल्लो घटनाले देखाएको छ ।”