भारतीय पक्षीजन्य वस्तु भित्रिने क्रम बढ्दो

राँझा, ९ भदौ । नेपालगञ्ज नाका हुँदै अवैधरुपमा भारतीय पक्षीजन्य वस्तु भित्रिने क्रम बढेको पाइएको छ । भारतबाट तस्करी गरी ल्याइएका बोइलर चल्ला र कुखुरा दैनिकजसो सुरक्षाकर्मीले नियन्त्रणमा लिने गरेको छ ।

चालू आर्थिक वर्षको दुई महीना नपुग्दै ठूलो सङ्ख्यामा पक्षीजन्य वस्तु नियन्त्रणमा लिइ नष्ट गरिएको पशु क्वारेन्टाइन कार्यालय नेपालगञ्जका पशुचिकित्सक रामलोचन शाहले जानकारी दिए । उनका अनुसार यस आर्थिक वर्षको साउन र भदौको पहिलो हप्तासम्म मात्रै भारतबाट अनाधिकृतरुपमा नेपाल भित्र्याइएका चार हजार ९०० बोइलर चल्ला, एक हजार २५० कोइलर चल्ला र तयारी अवस्थाका कुखुरा ७९६ वटा नष्ट गरिएको छ ।

यो अवधिमा पाँच हजार ५०० माछाका भुरासमेत नियन्त्रणमा लिएर नष्ट गरिएको उनले जानकारी दिए ।सशस्त्र प्रहरीको बल नेपाल, गण हेड क्वाटर नम्बर ३० गण बागेश्वरी र मातहतका पोष्टबाट खटिएका सुरक्षाकर्मीले अवैधरुपमा नेपाल ल्याउँदै गरेका पक्षीजन्य वस्तु नियन्त्रणमा लिने गरेका छन् ।

सशस्त्र प्रहरीको बलको गस्ती टोलीले महेन्द्रनगर र बालेगाउँ क्षेत्रबाट आइतबार मात्रै २० वटा कार्टुनमा राखेर ल्याउँदै गरेको दुई हजार वटा चल्ला नियन्त्रणमा लिएको हो । भारतको गोरखपुर ह्याचरीबाट उत्पादित ती चल्ला पशु क्वारेन्टाइन नेपालगञ्जले आइतबार नै नष्ट गरेका पशु चिकित्सक शाहले जानकारी दिए ।

ह्याचरी सङ्घ नेपालले भारतीय कुखुरा नेपाल भित्रिन नदिनका लागि नियन्त्रण गर्ने निकायलाई सानो चल्ला प्रतिवटा रु पाँच र ठूलो तयारी कुखुरा प्रतिवटा रु ५० प्रोत्साहन दिने निर्णय गरेपछि यसको सकारात्मक प्रभाव परेको सङ्घका प्रतिनिधि निजामुद्दिन इद्रिसीले जानकारी दिए ।