हुम्लाका स्थानीय तहका कर्मचारीले हाजिर नगरी तलब

हुम्ला, ९ भदौ । हुम्लाका स्थानीय तहका कर्मचारीले हाजिर नगरी तलब खाँदै आएका छन् । हरेक दिन अर्काको काम गरेर आफ्नो ज्याला बुझने कामदारले पनि आफूले काम गरेको हाजिरी नगरी घर फर्किँदैनन् । साहुले समेत कामदारलाई भनेकै समयभन्दा बढी काममा लगाउँछन् । तर हुम्लाका स्थानीय तहमा खटिएका कर्मचारी भने स्वयं हाजिर नै नगरी वर्षभरिको तलबभत्ता एकैचोटि बुझेको खुलासा भएको छ । हुम्लाका अधिकांश गाउँपालिकाका कर्मचारीहरु हाजिर नै नगरी तलब खाने गरेका पाइएको छ ।

सर्केगाड गाउँपालिकामा खटिनुभएका नायब सुब्बा कमानसिं धामीले २०७६ साल बैशाख महीनादेखि अहिलेसम्मको हाजिर नगरी सरकारबाट पाउने कर्मचारी सेवा सुविधा लिइसकेका छन । साविक गा।वि।स। चलाएका नायब सुब्बा धामीको अहिलेसम्म हाजिरी रजिष्टरमा भेटिँदैन । गाउँपालिकामा कर्मचारीसमेत नभेटिने अवस्थामा कार्यालय सहयोगीको भरमा छोडिएको छ ।

गाउँपालिकाकै कार्यन्वयन पक्षमा जिम्मेवारी लिएका प्रमुख प्रशासकीय अधिकृत योग्यप्रसाद पाण्डेको समेत हाजिरी रजिष्टरमा २०७६ सालकै दुई वटा हाजिरी गर्ने पृष्ठ छ । एउटामा २०७६ साल वैशाखदेखि असारसम्मको हाजिर भेटिएको छ भने रजिष्टरको अर्को पानमा हाजिर वैशाखदेखि अहिलेसम्म हाजिर गरेको छैन ।

गाउँपालिकामा १ देखि ८ वडासम्म र गाउँपालिका कार्यलयमा विभिन्न पदमा ४० स्थायी र ४६ करार कर्मचारी छन् । सदरमुकाम सिमकोटबाट पैदल हिँडेर गाउँपालिका पुग्न दुई दिन लाग्छ । तर अधिकांश कर्मचारी गाउँपालिका र वडामा बस्दैनन् । उनीहरू सदरमुकाम सिमकोट र शहरमा बढी देखिने गरेको दुल्लीका खम्पा थापाले बता्ए । “हाजिर त परै जाओस् गाउँपालिकाले दिएको जिम्मेवारी पनि वडामा गएर पूरा गर्न सकिरहेका छैनन्, अधिकांश वर्षको दुई महीना मात्रै अनुहार देखाउन गाउँमा आउँछन्”, उनले भने ।

हुम्लाकै साविकको कालिका गाविस निवासी खरिदार मेघनाथ शाहीको वैशाख महीनादेखि अहिलेसम्म गाउँपालिकाले कार्यालयमै राखेको रजिष्टरमा हाजिरी छैन । तर उनले एकैपटक हाजिर गरी तलब खाँदै गरेको खुलासा भएको छ । गाउँपालिकाका सहलेखापाल हिमाल रोकायाले सदरमुकाम सिमकोटमै सम्पर्क कार्यलय भएकोले कहिले सिमकोट, कहिले प्रदेश र सङ्घमा धाउनुपर्ने बाध्यताले कर्मचारीको नियमित हाजिर नभएको बताए ।

गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोष धामीको पनि आर्थिक २०७६ साल वैशाख महिनामा १७ दिनसम्म हाजिर गरेको देखिन्छ । गाउँपालिककै विभिन्न कामको लागि भन्दै स्वास्थ्य संयोजक धामी काठमाडौँ गए । उनले आफ्नो स्वास्थ्य शाखाको छुट्टै रजिष्टर भएकोले गाउँपालिकाको संयुक्त हाजिरी रजिष्टरमा नगरेको बताए । आफनो शाखाको हाजिरी रजिष्टर सदरमुकाम सिमकोटमै रहेको सम्पर्क कार्यलयमा रहेको उनको भनाइ छ । तर सिमकोटमा हाजिरी रजिष्टर नभई गाउँपालिका कार्यालयमै सबैको एउटै हाजिरी रजिष्टर भएको सहलेखापाल रोकायाले जानकारी दिए ।

स्वास्थ्य शाखाका अर्का वरिष्ठ अहेब धनबहादुर बोहराको वैशाख, जेठ र असार १९ गतेसम्म हाजिर गरेको देखिन्छ । नायब सुब्बा रविन्द्र शाहीको पनि २०७६ साल वैशाख महीनामा १० दिन मात्र हाजिर गरेको देखिन्छ । उनले जेठ महीनादेखि हाजिर गरेको छैन । उनको असारमा जिल्ला मालपोत कार्यलयमा सरुवा भएको छ ।

अधिकांश वडादेखि गाउँपालिकामा कर्मचारी नियमित हाजिर नहुँदा सेवाग्राहीलाई सेवा सुविधा दिन कठिनाइ त्यहाँ कार्यरत अन्य कर्मचारीहरूले बताएका छन् । गाउँपालिका उपाध्यक्ष जोशी धामीले कर्मचारीहरु अनियमित भए कारवाही गर्ने बताए । उनले अहिलेसम्म कर्मचारी सबै नियमित हाजिर हुने गरेको तर गाउँपालिकाको विभिन्न शाखाको काम भएकोले बाहिर गएको हुनसक्ने बताए ।