सरकारलाई आयोगको यस्तो छ ७ बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले सरकारलाई ७ बुँदे निर्देशन दिएको छ । प्रदेश र प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगले सरकारलाई ७ बुँदे निर्देशन दिएको हो ।

विहीबार बसेको आयोग पदाधिकारी बैठकले निर्वाचनलाई मध्यनजर गर्दै आचारसंहिता पूर्ण रुपमा पालना गर्न ७ बुँदे निर्देशन दिएको आयोगका प्रवक्ता नवराज ढकालले बताए ।

 

आयोगले दिएको साँत बुँदे निर्देशन यस्तो छ :

१) नेपाल सरकारको स्वामित्वमा रहेका वा सरकारी कोष एवं सर्वसञ्चित कोषबाट खर्च हुने वा बजेट प्राप्त हुने वा नेपाल सरकारबाट कुनै सुविधा हुने पद वा निकायमा कुनै पनि राजनीतिक नियुक्ति नगर्ने ।

२) यूएन, सार्क लगायतका अन्तर्राष्ट्रिय संस्था तथा क्षेत्रीय संगठनहरुमा भाग लिन वा विदेशी राष्ट्रको भ्रमणमा राज्यको प्रतिनिधित्व गर्ने बाहेक अन्य वैदेशिक भ्रमणमा रोक लगाउने तथा राज्यको प्रतिनिधित्व गर्ने गरी विदेश भ्रमणमा पठाउनु नै पर्ने भए स्वीकृतिका लागि निर्वाचन आयोगमा सहमति माग गर्ने ।

३) कर्मचारीहरुको सरुवारकाज सरुवा नगर्ने ।

४) प्राकृतिक प्रकोप वा अकल्पनीय घटना, उच्च राष्ट्रिय प्राथमिकतासँग सम्बन्धित विषयहरुमा वा राष्ट्रिय गौरवका आयोजनाहरुको हकमा बजेट थप, रकमान्तर तथा कार्यक्रम संशोधन गर्दा आयोगबाट पूर्वस्वीकृति लिने बाहेक अन्य अवस्थामा बजेट थप, रकमान्तर तथा कार्यक्रम संशोधन सहमति माग नगर्ने ।

५) राजनीतिक नियुक्ति पाएका व्यक्तिले जिल्ला भ्रमण गर्दा निर्वाचन प्रचार प्रसार बाहेकका सरकारी काममा मात्र सवारी साधन प्रयोग गर्ने ।

६) सम्माननीय प्रधानमन्त्रीज्यूले हेलिकप्टर प्रयोग गर्दा आयोगबाट स्वीकृति लिने तथा मन्त्रीज्यूहरु तथा सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले सरकारी काममा हेलिकप्टर प्रयोग नगर्ने साथै निजी हेलिकप्टर प्रयोग गर्नु पर्दा निर्वाचन आयोगको पूर्व सहमति लिएर मात्र प्रयोग गर्ने ।

७) निर्वाचन आयोगबाट मिति २०७४ भदौ १४ गतेबाट निर्वाचन आचारसंहिता लागू भएकाले उक्त आचारसंहिताको पूर्णरुपले परिपालना गर्ने गराउने ।